तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा वातावरण अनुकूलनका लागि ८६ लाख बिरुवा लगाइने

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा वृक्षारोपण विशेष अभियानको रुपमा सञ्चालन गरिएको छ । चुरेको अत्यधिक विनाश तथा वन क्षेत्रको अभाव भएको भन्दै मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८६ लाख बिरुवा उत्पादन गरेर संरक्षण सहित रोप्ने अभियानको शुरुआत गरेको हो ।  

जनकपुरधाम प्रवेश गर्ने राष्ट्रिय एवं व्यापारिक राजमार्गको रुपमा रहेको जनकपुर–ढल्केवरसम्म सडक खण्डको दुवै तर्फको पेटीमा ४ हजार ४ सय विभिन्न जातका बिरुवा लगाउन सुरु गरिएको डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले जानकारी दिनुभयो ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा सडक पेटीमा मात्र ४ लाख बिरुवाहरू संरक्षणसहित रोपिने मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले बताउनुभयो ।  

चालु आर्थिक वर्षमा सडक पेटीमा ५० किलोमिटर तथा कूल २ सय ७८ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ । सडक बाहेकका क्षेत्रमा वृक्षारोपणका लागि विभिन्न जातका ८६ लाख बिरुवा मधेश प्रदेशका विभिन्न जिल्ला स्थित डिभिजन कार्यालयले उत्पादन गरेको मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले जानकारी दिनुभयो ।

यस पटक प्रदेश सरकारबाट ६२ लाख र बाँकी संघीय सरकारको सशर्त अनुदानबाट बिरुवा उत्पादन गरेर सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । उत्पादन भएका बिरुवामध्ये ८ प्रतिशत डिभिजन वन कार्यालय र बाँकी रहेका ८० देखि ९० प्रतिशत नीजि जग्गामा लगाइने कार्यक्रम रहेको सचिव घिमिरेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button