तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरी सम्बन्धी विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल शुरु 

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल शुरु गरेको छ । 

समितिको आजको बैठकमा संशोधनकर्ता सांसदहरुले प्रहरी सङ्गठनलाई व्यावसायिक, व्यवस्थित, भरपर्दो, उत्तरदायी र विश्वसनीय बनाउनेगरी कानुन बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले नेपाल प्रहरीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु पर्ने, सरुवा बढुवालाई कानुनमार्फत नै अनुमान योग्य बनाइनु पर्ने, बढुवाका मापदण्ड स्पष्ट गरिनु पर्ने बताउनुभयो ।

सांसदहरुले प्रहरीको लागि हतियार भन्दा पनि प्रविधि भित्र्याउने, पूर्वाधार विकास गर्ने र क्षमता अभिवृद्धि गर्ने कुरामा जोड दिनुपर्ने, तल्ला तथा आधारभूत तहमा रहेका प्रहरीको सेवा सुविधा, सरुवा र बढुवाको पारदर्शिता लगायतका विषयमा संशोधन राखेको बताउनुभयो । 

विधेयक माथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले प्रहरीका तल्ला तहमा रहेका प्रहरी जवान र हवल्दारहरुलाई आधारभूत तहका प्रहरीका रुपमा लिइने र उनीहरूको सेवा सुविधालाई महत्त्वपूर्ण रुपमा विधेयकमा मार्फत ल्याइएको बताउनुभयो ।

गृहमन्त्री लेखकले संघीय संसद्को चालु वर्षे अधिवेशनमा विधेयक पास गर्नेगरी काम गर्न समितिलाई आग्रह गर्नुभयो । 

विधेयकमा एकल र संयुक्त गरी ५२ वटा समूहमा ७४ जना सांसदहरुले ६ सय ४८ वटा संशोधन प्रस्ताव राख्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button