तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर पल्टिँदा २ जनाको घटनास्थलमै मृत्यु 

वीरगञ्ज । वीरगन्ज महानगरपालिका–२८ स्थित सडक खण्डमा आज दिउँसो ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सोही ट्याक्टरले च्यापिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । 

वीरगन्ज महानगरपालिका–२८ बगहीमा आज दिउँसो ट्र्याक्टर पल्टिँदा बगही निवासी स्थानीय पन्नालाल पटेलका १७ वर्षीय छोरा आकाश पटेल र राजेश पटेलका १८ वर्षीय छोरा गोलु पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टर दुर्घटनामा वीरगन्ज महानगरपालिका–२८ इनर्वाका १९ वर्षीय जयकुमार मण्डल गम्भीर घाइते भएको र उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ । 

पर्साको भेडाहा खोलाबाट बालुवा लिएर बगही जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर आज दिउँसो २ बजेतिर अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको थियो । अनियन्त्रित भई सडकबाट खसेको ट्याक्टरले च्यापिएर चालक आकाश र ट्याक्टरमा सवार गोलुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button