विपद्को बेला अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउन सांसदहरूको जोड
ललितपुर । विपद्को बेला अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्नेमा संघीय सांसदहरूले जोड दिनुभएको छ।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले ललितपुरमा आयोजना गरेको “विपद् संवेदनशील सामाजिक सुरक्षा: अवस्था र आवश्यकता” विषयक राष्ट्रिय कार्यशालामा उहाँहरूले यस्तो धारणा राख्नुभएको हो।


सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले विपद् तथा जलवायु सङ्कटका प्रभावले गरिब, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायहरूलाई प्रत्यक्ष असर पार्ने बताउनुहुँदै, सरकारले पारित गरेको “विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१” को पूर्ण कार्यान्वयनका लागि कार्यविधि संशोधन, स्थानीय सरकारको क्षमता अभिवृद्धि र सूचना प्रणाली एकीकरण आवश्यक रहेको बताउनुभयो।
राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठले हाल सामाजिक सुरक्षाबाट करिब ३२ प्रतिशत जनसङ्ख्या लाभान्वित भएको जनाउँदै, प्रणालीलाई दिगो, लचिलो र समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो।
सहसचिव रोशनीकुमारी श्रेष्ठले नयाँ मापदण्डले तत्कालीन राहत मात्र नभई पुनर्लाभ, पुनर्स्थापना र स्थानीय तहको भूमिका सशक्त बनाउने व्यवस्था गरेको जानकारी दिनुभयो।

सांसद ईश्वरी घर्ती मगरले आपत्कालीन अवस्थामा छिटोछरितो सामाजिक सुरक्षा प्रणाली आवश्यक रहेको बताउँदै वित्तीय तयारी र स्थानीय तहको सशक्तीकरणमा जोड दिनुभयो। सांसद रञ्जु झा, तारा लामा तामाङ, पुष्पबहादुर शाह, कल्पना मियाँ कुसारी, सीता राना लगायतले सामाजिक सुरक्षा प्रणालीलाई समावेशी, प्रभावकारी र स्थानीय तहसँग समन्वयमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, सांसद, नीति निर्माताहरू र विकास साझेदार संस्थाहरूको सहभागिता रहेको थियो। अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष कुन्दा शर्माले धन्यवाद ज्ञापन गर्नुभएका थियो भने विजय पौडेलले सहजीकरण गर्नुभएको थियो।


प्रतिक्रिया राख्नुहोस्