तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा तेस्रो गहवामाई रथ यात्रा सम्पन्न(फोटो फिचर)

'रथ यात्रामा हजारौँ भक्तजन तथा श्रद्घालुहरुको सहभागिता'

वीरगञ्ज। वीरगंजमा आज तेस्रो गहवामाई रथ यात्रा भव्य रुपमा सम्पन्न भएको छ । गहवामाईको नवनिर्मित मन्दिरको १३ औँ बर्ष पूरा भएको अवसरमा निकालिएको रथ यात्रामा हजारौँ भक्तजन तथा श्रद्घालुहरुको सहभागिता रहेको थियो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह रथयात्रा व्यवस्थापन समितिका पदाधिकारीहरू, गुरु पुरोहितहरूले एक विशेष कार्यक्रममा गहवामाईको मन्दिर परिसरमा पूजा गरेर रथयात्राको शुभारम्भ गर्नुभएको थियो । 

वीरगन्जको माईस्थान स्थित मन्दिर परिसरबाट काठको रथमा २६ केजी चाँदीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखेर आज बिहान ७:३० बजे निस्किएको रथ यात्रा घण्टाघर चोक, रेल्वे रोड, अमर चोक, इदगाह चोक, छपकैया, वीर्ता, आदर्शनगर हुँदै पुन: मन्दिर पसिरमा पुगेर १०ः४५बजे समापन भएको थियो ।

विभिन्न झाँकी, पञ्चेबाजा र भगवानधारी झन्डासहित निकालिएको रथ यात्रामा पर्सा, बारा, रौतहट सहित सीमावर्ती भारतबाट समेत हजारौँ भत्तक्तजनहरुको सहभागिता रहेको रथयात्रा आयोजक समितिका अध्यक्ष श्याम पोखरेलले बताउनुभयो । 

आज सम्पन्न भएको रथ यात्रामा सहभागीताका लागि वीरगंज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिएको थियो । यस्तै वीरगंज महानगर क्षेत्रमा आज शुक्रबार र  भोली शनिवार गरी दुई दिनका लागि माछा, मासु र मदिराको बिक्री वितरण र सेवनमा महानगरपालिकाले रोक लगाएको छ ।

रथ यात्रामा सहभागी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजलाई धार्मिक पर्यटनको केन्द्र बनाउन वीरगंज महानगरपालिकाले थालेको अभियानलाई गहवामाई रथ यात्राको आयोजनाले टेवा पुर्याएको बताउनुभयो । उहाँले वीरगंज महानगरपालिकाको सहयोग र समन्वयमा मन्दिर सञ्चालक समितिले तिन बर्ष देखी रथ यात्रा निकाल्ने अभियान जारी राखेको र यसले हरेक बर्ष निरन्तरता पाउने पनि बताउनुभयो ।

मन्दिरको वार्षिकोत्सवको अवसरमा आज साँझ गहवामाई मन्दिर प्राङ्गणमा भजनकिर्तन, महाआरती सहितको  धार्मिक कार्यक्रमको आयोजना गरिने कार्यक्रम रहेको छ भने शनिवार (भोली) मन्दिर प्राङ्गणमै भण्डारा (प्रसाद वितरण) गरिने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button