प्रतिनिधिसभाबाट प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिएको छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभएको थियो ।
त्यसैगरी, आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले विनियोजन विधेयक– २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्नुभयो ।
सङ्कल्प प्रस्ताव पारित
राष्ट्रियसभाको आजको बैठकले ‘खानेपानी सेवामा हरेक नागरिकको पहुँच अभिवृद्धि गर्न खानेपानी तथा सरसफाइ संस्था/समितिलाई सुविधा प्रदान गर्ने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्नेसम्बन्धी’ सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
सो सङ्कल्प प्रस्तावका प्रस्तावकमा जगप्रसाद शर्मा र समर्थकमा कृष्णबहादुर रोकाया, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी शाह र मोहम्मद खालिद हुनुहुन्छ ।
बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दै अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तावमा उल्लेखित विषय कार्यान्वयनका गर्न सरकारलाई निर्देशनसमेत दिनुभएको छ ।
अध्यक्ष दाहालले सङ्कल्प प्रस्तावमा उल्लेखित विषयको कार्यान्वयनका लागि खानेपानी मन्त्री प्रदीप यादवले सभामा व्यक्त गर्नुभएको प्रतिबद्धतासमेत प्राथमिकताका आधारमा कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिनुभयो । प्रस्तावमा उल्लेखित विषयको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई उहाँले निर्देशन दिनुभयो ।
त्यसअघि प्रस्तावकर्ता शर्माले ‘खानेपानी सेवामा हरेक नागरिकको पहुँच अभिवृद्धि गर्न खानेपानी तथा सरसफाइ संस्था÷समितिलाई सुविधा प्रदान गर्ने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्नेसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सांसदहरु कृष्णबहादुर रोकाया, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी शाह र मोहम्मद खालिद समर्थक भई दर्ता गराउनुभएको यस प्रस्तावलाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्ष र प्रतिपक्षी सबै सांसदहरुले सहमति जनाउनुभएको थियो ।
प्रस्तावकर्ता सांसद शर्माले उपभोक्ता समिति एवं संस्थाको आयकर र राजस्व छुट गर्न साथै स्वदेशमै ब्लिचिङ पाउडर उद्योग स्थापना र सञ्चालन गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
“खानेपानी विशुद्ध रुपमा सेवामूलक संस्था हो । जसलाई राज्यले सहयोग, प्रेरित र उत्साहित गर्नुपर्ने हो”, उहाँले भन्नुभयो, “तर यसलाई नाफामूलक संस्थाका रुपमा व्यवहार गर्न भएन, यस्ता संस्थालाई पनि राजस्व र कर उठाउने, भ्याट काट्ने, ब्याज लगाउने गर्नु हुँदैन ।”
खानेपानी सेवालाई सबैको पहुँचमा पुर्याउन र उपभोक्ता समिति वा संस्थामार्फत खानेपानी सेवाको व्यवस्थापनलाई प्रभावकारी बनाउन सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।
यस सङ्कल्प प्रस्तावमा उपभोक्ता समिति वा संस्थालाई राजस्व, आयकर, भ्याटलगायत सम्पूर्ण कर छुटको प्रस्ताव उल्लेख गरिएको छ । नगर विकास कोषले उपलब्ध गराउने ऋणको ब्याज कम गर्ने, जनसहभागितालाई राष्ट्रिय खानेपानी तथा सरसफाई तथा स्वच्छता नीति, २०८० अनुसार गर्न र स्वदेशमै ब्लिचिङ पाउडर उद्योग स्थापना र सञ्चालन गर्न प्रस्ताव गरिएको छ । यस्तै, विद्युत् डिमान्ड शुल्क मिनाहा गर्नेसमेत प्रस्तावमा उल्लेख गरिएको छ ।
गत जेठ ६ गते दर्ता गरिएको उक्त प्रस्तावमाथि आजको बैठकमा छलफल गरिएको हो । संशोधनको सूचना प्राप्त नभएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै डा अञ्जान शाक्यले पहुँच वृद्धिका लागि रणनीतिक स्पष्टता आवश्यक भएको बताउनुभयो ।
सांसदहरु भुवनबहादुर सुनार, विष्णुकुमारी सापकोटा, तुलसाकुमारी दाहाल, घनश्याम रिजाल, मायाप्रसाद शर्मा, सुमित्रा बिसी, राजेन्द्र लक्ष्मी गैरे र कृष्णप्रसाद अधिकारीले आ–आफ्नो धारणा राख्दै समर्थन जनाउनुभएको थियो । रासस
प्रतिक्रिया राख्नुहोस्