तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज भन्सार नाकाबाट ११ महिनामा २३ अर्ब ९३ करोडको खाद्यान्न भित्रियो

बीरगंज । मुलुकको प्रमुख भन्सार नाका बीरगंजको आईसिपी भन्सार हुँदै आर्थिक बर्ष २०८१/८२ को ११ महिनामा २३ अर्ब ९३ करोड ६० लाख ७७ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न भित्रिएको छ । 

बीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८१/८२ को ११ महिनामा ७ अर्ब २८ करोड ५० लाख ७९ हजार मूल्य बराबरको धान भित्रिएको छ भने सो अवधिमा २ अर्ब ७२ करोड ७७ लाख ५३ हजार मूल्य बराबरको चामल भित्रिएको छ ।

त्यसैगरी आईसिपी भन्सार नाकाबाट सो अवधिमा ८ अर्ब १४ करोड ४२ लाख ४७ हजार मूल्य बराबरको मकै भित्रिएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसैगरी बीरगंज नाकाबाट फापर, कोदोको पिठो लगायतका खाद्यान्न १ अर्ब ५९ करोड ७८ लाख ८४ हजार मूल्य बराबरको भित्रिएको छ भने गहुँ ४ अर्ब २० करोड ६३ लाख मूल्य बराबरको भित्रिएको छ ।

धान चामल, मकै र गहुँ लगायतका खाद्य सामग्रीबाट बीरगंज भन्सारले १ अर्ब ३६ करोड ३७ लाख २४ हजार राजस्व असुली गरेको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो ।

गत बर्ष २०८०/०८१ को ११ महिनामा बीरगंज नाकाबाट २२ अर्ब ४० करोड २३ लाख १६ हजार मूल्य बराबरको धान, चामल, मकै, फापर कोदो तथा गहुँ लगायतका खाद्यान्न भित्रिएको र सो बापत १ अर्ब १५ करोड ६४ लाख २१ हजार राजस्व असुली भएको भन्सार प्रशासक लामिछानेले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button