तपाईँ सुन्दै हुनुहुन्छः

देश र जनताका लागि विश्वसनीय पत्रकारिता आवश्यक: मन्त्री लेखी 

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले पछिल्लो समयमा नेपाली पत्रकारिता क्षेत्रमा अनलाइन पत्रकारिताको लोकप्रियता बढेपनि पत्रकार आचार सहितको पालनामा कमी आएको बताउनु भएको छ । 

सञ्चारमन्त्री लेखीले आमसञ्चार प्राधिकरण, मधेश प्रदेशको आयोजनामा धनुषाको मिथिला विहारी नगरपालिकाको पुरन्दाहामा आज देखि शुरु भएको तीनदिने अनलाइन सञ्चार माध्यमका सम्पादकहरूको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले आचार सहित पालनामा जोड दिँदै पछिल्लो समयमा पत्रकारहरूमा मेहनत गर्ने प्रवृत्तिमा कमी हुनुका साथै कपी पेस्ट गर्ने प्रवृत्ति बढ्दै  गएकोमा चिन्ता व्यक्त गर्दै गुणस्तरीय र विश्वसनीय पत्रकारिताको खाँचो मुलुक र जनताका लागि जहिले आवश्यक भएको बताउनु भयो । 

सञ्चारमन्त्री लेखीले राज्यको रुपान्तरणका लागि तथा नागरिक स्वतन्त्रता, लोकतन्त्र, गणतन्त्र तथा समावेशी मुद्दालाई स्थायित्व प्रदान गर्नका लागि पत्रकारिता क्षेत्रले निरन्तर रुपमा कलम चलाउनु पर्ने धारणा राख्नु भयो । 

उहाँले मधेश प्रदेश सरकारले संविधानको मर्म तथा भावना अनुसार विभिन्न निकायमा दलित तथा थारुलाई नियुक्ति गर्ने काम भएको तर यसले प्रदेशमा तरङ्ग सृजना गर्ने काम भएको बताउनु भयो । 

मधेश सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री लेखीले आफू कुनै व्यक्ति वा शक्तिको डरले झुक्ने खालको व्यक्ति नभएको प्रष्ट पार्दै संविधान, प्रचलित ऐन तथा नियमावली बमोजिम अघि बढ्ने बताउनु भयो । 

आम सञ्चार प्राधिकरण, मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडकाको अध्यक्षता रहेको सो कार्यक्रममा चलचित्र तथा लोक सञ्चार प्रवद्र्धन बोर्डका अध्यक्ष किशोर कुमार लेखी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस सल्लाहकार अवधेश कुमार झा र मिडिया काउन्सिल मधेश प्रदेशका सदस्य सुरेश यादवले बोल्नु भएको छ । 

आज देखि मधेश प्रदेशमा दर्ता भएका अनलाइनका सम्पादकहरूलाई लक्षित गरेर शुरु भएको अभिमुखीकरण कार्यक्रम १३ गतेसम्म चल्ने आम सञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख प्रसन्नराज कर्णले जानकारी दिनु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button