१२ दिनको युद्धमा इजरायल र इरानले के पाए, के गुमाए?
काठमाडौँ ।गत जुन १३ मा इजरायलले इरानमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि आरम्भ भएको द्वन्द्व मंगलवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको युद्धविराम घोषणासँगै अन्त्य भएको छ ।
इरानले युद्धविराम प्रस्तावमा सहमति जनाएको छ । तर, त्यो लागू हुनुभन्दा अघि इजरायलमाथि उसले ६ वटा क्षेप्यास्त्र आक्रमण गरेको थियो। इजरायलले पनि मंगलवार इरानमाथि आक्रमण गरेको खबर सञ्चारमाध्यमहरूमा आएको छ । तर अमेरिकी घोषणापछि इजरायलले पनि युद्धविराम भएको पुष्टि गरेको छ ।
द वाल स्ट्रीट जर्नलले दिएको समाचार ‘इजरायल सीक्स टु र्याप अप फाइटिङ विथ इरान सून’ मा उल्लेख भएअनुसार, अमेरिकाले इरानको आणविक केन्द्रहरूमा आक्रमण गरेपछि इजरायलले अरबी मध्यस्थकर्ताहरूमार्फत इरानलाई सैन्य कारवाही बन्द गरिने सन्देश पठाएको थियो ।
इरानको आणविक कार्यक्रमका विषयमा वार्ता हुने अपेक्षा पनि इजरायलले गरेको उक्त पत्रिकाले लेखेको छ ।
वास्तवमा अहिलेको लडाइँ इजरायलले नै सुरु गरेको हो । विभिन्न मुलुकहरूले गाजामा इजरायलले गरिरहेको नरसंहारको विरोध चर्काउन थालेपछि त्यसबाट ध्यान भड्काउनका लागि इजरायलका युद्धसमर्थक प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध आक्रमण थालेका थिए । अनि इरान र चीनबीचको रेलमार्ग सञ्चालनपछि इरानलाई आर्थिक प्रतिबन्धमार्फत घुँडा टेकाउन असम्भव हुने कुरा बुझेको अमेरिकाले पनि इजरायली आक्रमणलाई समर्थन गरेको थियो ।
इरान यस लडाइँका लागि इच्छुक थिएन तर आफ्नो भूमिमा भएको आक्रमणको जवाफ फर्काउनका लागि ऊ बाध्य थियो ।
इजरायलीहरूले इरानबाट प्रत्याक्रमण हुनुअघि नै अमेरिकाले हस्तक्षेप गर्ने अपेक्षा गरेका थिए । तर लडाइँको तेस्रो दिन पुग्दासम्म अमेरिका इरानसँग युद्धका लागि इच्छुक छैन भन्ने कुरा इजरायलीहरूले बुझ्न थालेका थिए । त्यस अवधिसम्म र पछि पनि इरानी प्रत्याक्रमणका कारण इजरायलले यसअघिको द्वन्द्वमा भन्दा धेरै बढी क्षति बेहोर्नुपरेको थियो ।
इरानले प्रत्याक्रमणका क्रममा आफ्ना पुराना क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गरी इजरायलको हवाई प्रतिरक्षा क्षमतालाई व्यस्त बनाइदिएका थिए ।
लगातार क्षेप्यास्त्र प्रहार गरेर इजरायलको प्रतिरक्षा प्रणालीलाई हायलकायल पारेपछि इरानले हाइपरसोनिक सहितका नयाँ क्षेप्यास्त्रहरू आक्रमण गरेको थियो । सीमित संख्यामा नयाँ क्षेप्यास्त्र प्रहार गरेर नै इरानले इजरायलमाथि अकल्पनीय क्षति गराउन सफलता पाएको थियो । इजरायलको सैन्य क्षमतालाई इरानी क्षेप्यास्त्रहरूले क्रमशः कमजोर बनाउँदै लगेका थिए ।
हुन त लडाइँको आरम्भमा इजरायलले इरानमाथि भीषण आक्रमण गरेर इरानको हवाईक्षेत्रमा प्रभुत्व पनि जमाएको थियो । त्यससँगै उसले इरानका उच्च सैन्य अधिकृत र आणविक वैज्ञानिकहरूको हत्या गरिदिएको थियो । यस्ता ‘डिक्यापिटेशन स्ट्राइक्स’ ले इरानी शासनसत्ता हल्लाइदिने र इरानी जनताले आयातोल्लाह अली खमेनीका विरुद्ध आन्दोलन थाल्ने इजरायलको अपेक्षा थियो । तर, इरानले शीर्ष सैन्य अधिकृतहरूका उत्तराधिकारीलाई तत्कालै नियुक्त गर्यो र प्रत्याक्रमण कारवाहीलाई सुस्त हुन दिएन ।
इरानको भीषण प्रत्याक्रमणका कारण इजरायलमा विनाश मच्चिन थाल्यो । विभिन्न शहरका भवनहरू ध्वस्त हुँदै गएपछि गाजाको जस्तो दृश्य देखिन थाल्यो । कतिपय इजरायलीहरूले इरानसँग माफी माग्दै आक्रमण रोक्न आह्वान गरी सडकमा नारा लगाएको भिडियो समेत सार्वजनिक भए । त्यसले इजरायलीहरूमा त्रासको माहोल व्याप्त रहेको स्पष्ट सन्देश दियो ।
त्यसपछि अमेरिकामा रहेको शक्तिशाली इजरायली खेमाले राष्ट्रपति डोनल्ड ट्रम्पलाई हस्तक्षेप गर्न चर्को दबाब दिन थाल्यो । तर, यस लडाइँमा अमेरिका सहभागी हुँदा त्यसको दुष्परिणाम चर्को हुने भएकाले अमेरिका हिचकिचायो ।
इरानले भूरणनीतिक रूपमा संवेदनशील होर्मुज जलमार्ग बन्द गरिदेला भन्ने त्रासका कारण अमेरिकाले इरानलाई सम्झाउन चीनलाई गुहार्यो । त्यसपछि लडाइँ अन्त्यका लागि योजना बुनियो ।
उक्त योजनामुताबिक अमेरिकाले इरानमाथि देखावटी आक्रमण गर्ने र इरानले पनि देखावटी प्रत्याक्रमण गर्ने सहमति बन्यो । दुवै देशका शासकहरूले आआफ्ना जनतासमक्ष विजयको उद्घोष गर्ने बहाना खोजे ।
तदनुरूप, अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमा बंकर बस्टर बम र टमाहक क्षेप्यास्त्रहरू प्रहार गरेर तिनलाई ध्वस्त पारिदिएको दाबी गर्यो । तर, तिनले आणविक केन्द्रका बाहिरी संरचना भत्काउने काम मात्र गरे ।
इरानले ती केन्द्रबाट संवर्धित युरेनियम पहिल्यै हटाइसकेको थियो र वैज्ञानिकहरूलाई पनि सुरक्षित स्थानतर्फ सारेको थियो । अहिले पनि इरानीहरू युरेनियम संवर्धन गर्न समर्थ नै रहेको बताइन्छ र पश्चिमको धोकाका कारण इरानले अब आणविक अप्रसार सन्धिबाट हात झिकेर आणविक हतियार बनाउने सम्भावना छ ।
अमेरिकी आक्रमणपछि इरानले पनि पूर्वनिर्धारित योजनामुताबिक अमेरिकाको कुनै एक सैन्य अड्डामा देखावटी आक्रमण गर्ने निर्णय लियो । इरानसँग राम्रो सम्बन्ध भएको कतारमा रहेको अल उदेद एयरबेसमा इरानले सोमवार क्षेप्यास्त्र आक्रमण गर्यो । त्यस एयरबेसबाट अमेरिकाले पहिल्यै आफ्ना लडाकू विमानहरू हटाइसकेको थियो ।
योजनामुताबिकको आक्रमण र प्रत्याक्रमणलगत्तै ट्रम्पले युद्धविरामको घोषणा गरे र इजरायललाई थप क्षतिग्रस्त हुनबाट जोगाए । इरानले अझै एक हप्तासम्म आक्रमण गरिरहेको भए इजरायलको सैन्य क्षमता पूरै नष्ट हुने थियो भनी अमेरिकाका पूर्व सैन्य अधिकृत कर्नेल डगलस म्याकग्रेगरले दाबी गरेका छन् ।
यस युद्धविरामले इजरायल, इरान र अमेरिका सबैलाई खुशी बनाएको छ । इजरायली सम्भ्रान्तहरू आफूले चाहेको बेलामा अमेरिकी सेनाको खतरनाक बम समेत उपयोग गर्न पाएकाले खुशी छन् यद्यपि त्यसअघि सर्वसाधारण इजरायलीको ज्यान जाने गरी इरानी प्रत्याक्रमण बेहोर्नुपरेको थियो । ट्रम्प अमेरिकाको विशाल सैन्यशक्ति कारवाहीबाट दंग छन् यद्यपि त्यसले इरानमा दाबी गरिएजस्तो वाञ्छित असर गरेन । अनि इरान पनि अमेरिकाबाट नदब्ने शक्तिका रूपमा आफूलाई स्थापित गर्न पाउँदा प्रसन्न छ यद्यपि उसलाई यो युद्धमा होमिन मनै थिएन ।
तर, अहिले पनि एउटा समस्या विद्यमान छ । तत्कालका लागि त युद्धविराम भएको छ तर त्यसलाई इजरायलले भंग नगर्ला भन्ने कुनै सुनिश्चितता छैन । इरानसँग आणविक हतियार नभएसम्म इजरायलले इरानमाथि जुनसुकै बेलामा पनि आक्रमण गर्न सक्छ । उत्तर कोरियालाई आणविक हतियार भएकैले गर्दा अमेरिकाले आक्रमण गर्न नसकेको तथ्य यहाँ सान्दर्भिक छ ।
तत्कालका लागि इरानले आफ्नो आणविक कार्यक्रमलाई गोप्य राख्ने सम्भावना छ । आफूसँग भएको युरेनियमलाई के गर्ने हो भनी उसले केही बताउने छैन । त्यसका बारेमा इन्टरनेशनल एटमिक इनर्जी एजेन्सीलाई उसले कुनै जानकारी दिने छैन । त्यो एजेन्सीले नै इजरायललाई इरानी आणविक वैज्ञानिकहरूका बारेमा सूचना दिएकाले इजरायलले तिनलाई ताकेर आक्रमण गरी मारेको हो भनी इरानले विश्वास गरेको छ ।
यसरी आफ्नो आणविक कार्यक्रमलाई गोप्य राखेर इरानले इजरायल झैं ‘लेटेन्ट न्युक्लीयर वेपन स्टेट’ का रूपमा आफूलाई विश्वसमक्ष प्रस्तुत गर्ने सम्भावना छ (इजरायलले पनि आफूसँग आणविक हतियार रहे नरहेको स्पष्ट पारेको छैन) । त्यस अवस्थामा आणविक हतियार बनाएको रहेनछ भने पनि इरानमाथि इजरायल वा अमेरिका वा अन्य कुनै शक्तिले आक्रमण गर्ने छैन ।
तर, अमेरिका र इजरायलको वक्रदृष्टि कायम रहुन्जेलसम्म इरानले आणविक हतियार बनाउने कार्यक्रमलाई अघि बढाउने देखिन्छ, भलै आयातोल्लाह खमेनीले आणविक हतियार निर्माण इस्लाम धर्मको प्रतिकूल रहेको भनी बयान दिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्