भरतपुर मेयर कप : डन, भानु, वाल्मीकि र जनज्योति सेमिफाइनलमा
चितवन । दोस्रो भरतपुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । आज (मङ्गलवार) एकैदिन सेमिफाइनल पुग्ने सबै चारै टोलीको टुङ्गो लागेको हो ।

समूह ए बाट डन एकेडेमी र आदिकवि भानु मावि सेमिफाइनल प्रवेश गरेका छन् । यस्तै समूह बी बाट वाल्मीकि शिक्षा सदन र जनज्योति मावि सेमिफाइनल पुगेका छन् । भरतपुर ७ कृष्णपुरमा भएको पहिलो खेलमा डन एकेडेमीले नेपाल पुलिस स्कुललाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा डनले टाई ब्रेकरमा बाजी मार्यो ।
त्यसअघि निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो । जसमा डन विजयी भयो । डनले अब फाइनल प्रवेशका लागि आदिकवि भानु माविको सामना गर्नेछ ।
आजै भरतपुर १२ रामवेलमा भएको खेलमा दुर्गाशेषकान्त माविलाई हराउँदै भानु माविले पनि सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा १–१ गोल भएपछि टाई ब्रेकरमा भानु मावि विजयी भयो ।
उता समूह बी बाट वाल्मीकि शिक्षा सदनले पारिजात माविलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो । भरतपुर ७ कृष्णपुरमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि २–१ ले विजयी भयो ।
यस्तै भरतपुर १४ सुन्दरबस्तीमा भएको खेलमा जनज्योति विजयी भएको छ । अर्बिट स्कुललाई हराएको जनज्योति सेमिफाइनल प्रवेश गरेको छ । जनज्योति ३–१ ले विजयी भएको हो । यससँगै समूह बी बाट फाइनल प्रवेशका लागि वाल्मीकि र जनज्योति भिड्ने पक्का भएको छ ।
प्रतियोगिताको सेमिफाइनल समीकरण १२ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो सेमिफाइनलमा १२ गते डन एकेडेमी र आदिकवि भानु मावि भिड्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा १३ गते शुक्रबार वाल्मीकि र जनज्योति भिड्नेछन् । दुवै खेल भरतपुर ७ कृष्णपुरमा हुनेछ ।
चितवन जिल्ला फुटबल सङ्घको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा सुरु भएको प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ स्कुल सहभागी छन् । सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्