प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथि मन्त्रीहरूको जवाफ जारी
'विपद् व्यवस्थापनदेखि सूचना प्रविधिसम्मका योजना सार्वजनिक'
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा गोदाम घरको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ माथि गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले बाढी, पहिरो, भूकम्प, डुबान, चट्टान, आगलागीजस्ता विपद्को सामना गर्न आवश्यक पर्ने सामग्री भण्डार गर्नका लागि सरकारले बजेटमा गोदाम घरको व्यवस्था गरेको बताउनुभयो ।
सरकारले ७० वर्षपछि नेपाल प्रहरीको नयाँ कानून ल्याएको जानकारी गराउँदै गृहमन्त्री लेखकले स्थानीय तहहरूबाट सर्वसाधारणले माग गरे बमोजिम अस्थायी प्रहरी चौकी निर्माण गर्ने कार्य प्राथमिकतामा राखेको बताउनुभयो ।
त्यस्तै सांसदहरुले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री शरद सिंह भण्डारीले स्वदेशमा रोजगारका सम्भावित क्षेत्रहरू पहिचान गरी निजी क्षेत्रसँगको सहकार्यमा ६ महिने सिपमूलक तालिमको व्यवस्था बजेटले गरेको जानकारी गराउनुभयो ।
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका युवाहरूलाई समेत सिप मुलुक तालिमले नेपाल फर्कने बाटो खुला गर्न सक्ने मन्त्री भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विनियोजन विधेयक २०८२ मा मन्त्रालयअन्तर्गत सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै सूचना प्रविधिको क्षेत्रमा युवाहरूलाई रोजगारीको व्यवस्था गर्ने, नवीनतम प्रविधिको अधिकतम् प्रयोग गर्ने तथा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिका माध्यमबाट आर्थिक सामाजिक रूपान्तरण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो ।
मन्त्री गुरुङले विचार तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित गरिने र आमसञ्चार माध्यममा आम नागरिकको पहुँच विस्तार गर्न रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राससबाट विभिन्न भाषाको समाचार र कार्यक्रमहरू थप गरिने र सार्वजनिक सेवा प्रसारण सामग्रीको गुणस्तर वृद्धि गरिने बताउनुभयो ।
बैठकमा सांसदहरुले विभिन्न मन्त्रालयअन्तर्गत उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ ।
प्रतिक्रिया राख्नुहोस्