नरैनापुरमा १५ शैयाको अस्पताल दक्ष जनशक्तिसहित सञ्चालन हुने
बाँके। बाँकेको नरैनापुर गाउँपालिकाको १८औं गाउँसभा सोमबार सम्पन्न भएको छ । सभामा अध्यक्ष शैयद इस्तियाक अहमद शाहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम पेश गर्नुभयो भने वडा नं ६ का अध्यक्ष प्रेम मौर्यले ५१ करोड ६३ लाख ३८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । उक्त नीति तथा कार्यक्रम र बजेट सभाबाट सर्वसम्मत पारित गरिएको छ ।
गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार, पशुपालन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिहरू ल्याएको छ । ‘कृषि उपज बजारसम्म–मुनाफा किसानको खल्तिसम्म’ भन्ने नारासहित कृषि पकेट क्षेत्रको विकास, किसान सूचिकरण, जैविक खेती र रैथाने बाली संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
शिक्षामा ‘शिक्षा विशेष’ कार्यक्रमलाई निरन्तरता दिँदै प्रविधिमैत्री र व्यवहारिक शिक्षालाई जोड दिइएको छ । दलित, विपन्न, द्वन्द्वपीडित तथा असाहाय विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण गरिनेछ ।
स्वास्थ्यतर्फ किशोरी, सुत्केरी र पोषण केन्द्रित कार्यक्रम लागू गरिने छ भने १५ शैयाको अस्पताललाई दक्ष जनशक्तिसहित सञ्चालन गरिनेछ । पर्यटनतर्फ सन्तानेश्वर र बर्फानी बाबालाई सदरमुकामसँग जोड्ने कार्य अघि बढाइनेछ ।
पालिकाको भवन समयमै निर्माण सम्पन्न गर्न पहल गरिने र पशुपालनमार्फत आत्मनिर्भरता तथा दुध विकास संस्थान स्थापना गरी किसानलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।
सभाको सञ्चालन सहायक प्रशासकीय अधिकृत भरत महतोले गर्नुभएको थियो भने उपाध्यक्षबाहेक सबै सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्