युवाहरू भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताउनुभएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
“अहिले युवा सङ्घको काँधमा असाधारण जिम्मेवारी रहेको छ । आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ । सङ्घको नेतृत्वले आफ्नो कार्यकालका लागि सिङ्गो योजना बनाओस् । नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस् ।”, अध्यक्ष ओलीले भन्नुभयो, “यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठनका रुपमा उभ्याओस् । वैचारिक हिसाबले स्पष्ट र साङ्गठनिक हिसाबले सुदृढ तथा आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारु रुपमा आन्दोलन गर्न सक्ने योजना होस् । विपक्षीहरूले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गरोस् । सही बाटोका पछि लागोस् । व्यक्तिका पछि होइन ।”

अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्नसक्ने व्यक्तिप्रति युवाहरू असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरू विश्वमा युवाहरूले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आव्हान गर्नुभयो ।
“युवाहरू सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ । युवाहरूलाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुस्त गतिमा अगाडि बढ्न पुग्छन् । युवाहरूलाई उद्यमशीलतातर्फ कसरी अगाडि बढाउने भन्नेमा हामी लाग्नुपर्छ ।”, उहाँले भन्नुभयो, “उही नेता कहिले कहिले आवश्यकताले दोहोरिन्छ । कहिले एक पटकमै उसको परीक्षणबाट असफल हुन्छ । हामीले पार्टीमा ठिक नेतृत्व नपाउँदा आन्दोलन रुमलियो । जनताको बहुदलीय जनवाद (जबज) पारित भएपछि पनि तत्काल सही नेतृत्व पाएनौँ । जब सही नेतृत्व पायौँ, त्यसपछि पार्टीलाई सुस्पष्ट र मजबुद बनाएर अघि बढ्यौँ ।”

उहाँले आफूहरूलाई सिद्ध्याउँछौँ भनेर प्रतिक्रियावादीहरू लागे पनि आफूहरू मजबुद हुन सक्नुमा सही विचार र सही नेतृत्व भएकाले पार्टी एकीकरण गरेर नेकपा बनाएको तर पार्टीमा विभाजन गराइएकाले फेरि पार्टीलाई जस्ताको तस्तै बनाएर अघि बढेको त्यो सामर्थ्य (रिजिलेन्स) एमालेसँग भएको स्पष्ट गर्नुभयो ।
“अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ । जहाँ पनि युवा मात्रै भनेर हुँदैन । कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । दक्षता, सीप र अनुभव आदि कुराहरू चाहिन्छ ।”, अध्यक्ष ओलीले भन्नुभयो, “कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ । हाम्रा युवाहरू दम्भी, घमण्डी हुनेछैनन् । क्षमतावान् विनयी र शालीन हुनेछन् । गुण्डा हुने छैनन्, बलवान हुनेछन् । कसैले गालामा पिट्न आएमा ओम शान्ति…. भनेर चाहिँ बस्दैनन् । त्यसकारण युवा सङ्घले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ ।”

युवा सङ्घ जनताको स्वाभिमानको मजबुद किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले युवा सङ्घ समग्र सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नायक हो भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्