पौडेलको ‘देशाटन’ लोकार्पण
काठमाडौँ । साहित्यकार पुष्पराज पौडेलको संस्मरण कृति ‘देशाटन : घुम्दै, फिर्दै जिल्ला–जिल्ला’ आज काठमाडौँमा लोकार्पण गरियो । आवरण प्रकाशनद्वारा प्रकाशित तथा आयोजित समारोहमा प्रसिद्ध साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले कृति लोकार्पण गर्दै देशाटनले संक्षेपमा देशका सबै जिल्ला घुमाएको अनुभूति भएको बताउनुभयो । नेपाली साहित्यमा संस्मरण विधाको लोकप्रियता बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।

साहित्यकार तीर्थराज वन्तले लेखक पौडेल रेडक्रसकर्मीका नाताले नियमित रूपमा डायरी लेख्ने भएकोले कृति प्रकाशन गर्न सहज भएको जानकारी दिनुभयो । पत्रकार तथा समीक्षक राजकुमार बानियाले जीवनको गतिशीलता नै यात्रा लेखनको चिनारी भएको जानकारी दिनुभयो । कृतिकार पुष्पराज पौडेलले देशका सबै जिल्ला घुम्दाका सम्झनाहरू अहिले पनि ताजै भएर सल्वलाएको हुँदा देशाटनको रूपमा प्रकाशन गरेको बताउनुभयो ।
आवरण प्रकाशनका प्रबन्ध निर्देशक, कवि, कलाकार रमेश पौडेलले देशाटनले संस्मरण विधाको लोकप्रियतालाई बढाउने गरी न्यूमिडिया शैलीमा विश्वव्यापी बनाउने समेत जानकारी दिनुभयो । साहित्यकार मुकुन्द पौडेलको सभापतित्वमा भएको सो समारोहमा विकास विषय विज्ञ गोविन्द पौडेल र मारिया अधिकारीले कृतिकार पौडेलको रेडक्रस र साहित्यिक व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।
समारोहमा प्रकाशकका तर्फबाट प्रमुख अतिथि डा. भट्टराईलाई उहाँकै मुहार चित्र उपहार प्रदान गरिएको थियो । समारोहमा साहित्य, समाजसेवा र चिकित्सा क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो । कृतिकार पौडेलका यस अघि रेडक्रसकर्मी ऊ, शिक्षाका ती दिन र सयपत्री आदि प्रकाशित भइसकेका छन् । कृति २२४ पृष्ठको छ भने मूल्य ५०० रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्