ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
इलाम । इलामको रोङ गाउँपालिका–३ पाथ्ले डाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
आज दिउँसो ४ः१० बजे झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदन बहादुर बोहरा र जाजरकोटको छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरी रहेका छन्।
ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्