प्रतिनिधि सभामा आज पनि विनियोजन विधेयक माथिको छलफल जारी
काठमाडौँ । प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयक माथिको छलफल जारी रहेको छ ।
छलफल अन्तर्गत आज युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफल भइरहेको छ ।
छलफलमा सांसदहरुले बजेटको सिद्धान्तका आधार पारदर्शी निष्पक्ष र सन्तुलित रुपमा बजेट विनियोजन हुनु पर्नेमा जोड दिनुभयो ।
सांसदहरुले मापदण्ड र सङ्घीयताको मर्म विपरीत साना र टुक्रे कार्यक्रमहरूमा समेत मन्त्रालयहरूले रकम विनियोजन गरेको भन्दै यस्ता त्रुटि सच्याउन माग गर्नुभयो ।
सांसदहरुले सन्तुलित रुपमा विनियोजन नभएको, एक जिल्लाको नाम र अर्कै जिल्लाको ठाउँ र आयोजना राखेर बजेट विनियोजन भएको, कतिपय आयोजनामा अध्ययन विना बजेट विनियोजन गरिएको आरोप लगाउनुभयो ।
सहरी विकास लगायतका केही मन्त्रालयमा १० हजार भित्रका समेत बजेट विनियोजन भएको भन्दै योजना छनोट विकास र विनियोजनमा तालमेल हुन नसकेको सांसदहरुले बताउनुभयो ।
बिनियोजन विधेयकमाथि खर्च कटौतीका प्रस्तावक सांसदहरुले विकास गर्ने र जनतामा आशा जगाउने गरी बजेट विनियोजन हुन नसकेको बताउनुभयो ।
उहाँहरूले खेलकुद विकासका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको, सबै प्रदेशमा समान रुपमा क्रिकेट खेलको विकास गर्ने र क्रिकेट मैदान बनाउने गरी बजेट नआएको बताउनुभयो ।
सांसदहरुले विभिन्न मन्त्रालयका बजेट विनियोजन पक्षपाती रहेको, रणनीतिक रुपमा महिला बालबालिकालाई बजेटले हेर्न नसकेको, बालबालिकाको भविष्य सुनिश्चित गर्ने, शिक्षा, सिप सिकाउने विषय बजेटले ध्यान दिन नसकेको बताउनुभयो ।
सांसदहरुले योजना छनोट, नीति निर्माणमा अनुगमन र मूल्याङ्कन प्रक्रियामा संसद्लाई सहभागी गराउनुपर्नेमा जोड समेत दिनुभयो ।
सांसदहरुले राष्ट्रिय योजना बैङ्क प्रभावकारी बन्न सक्नुपर्ने, बजेट विनियोजन गर्दा पुरै देशलाई एउटै आँखाबाट हेर्नुपर्ने, समान विकासको अवधारणा बनाइनुपर्ने र बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
सदनमा प्रतिपक्षी दलका सांसदहरुले भिजिट भिसा प्रकरणमा सरकारले छानविन समिति बनाउने विषयमा रोष्ट्रमबाट बोलेकाले त्यसमा ढिलाइ नगर्न आग्रह समेत गर्नुभएको छ ।
विनियोजन विधेयक अन्तर्गत आजका विभिन्न शीर्षकमाथि ८ जना सांसदहरु डा.अमरेश कुमार सिंह, प्रभु साह, चित्र बहादुर केसी, प्रेम सुवाल, हितराज पाण्डे, गंगा कार्की, अमनलाल मोदी र लेखनाथ दाहालले खर्च रकमलाई घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा आज सांसदहरु अर्जुननरसिंह केसी, सूर्यबहादुर थापा क्षेत्री, महेन्द्र बहादुर शाही, प्रकाश ज्वाला, रञ्जुुकुमारी झा, अब्दुल खाँन, ज्ञानेन्द्रबहादुर कार्की तारा लामा तामाङलगायतका सांसदहरुले विनियोजन विधेयकका विभिन्न शिर्षहरुमाथिको छलफलमा भाग लिनुभएको थियो ।
सभामा प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सत्तापक्षका सांसदहरू बोल्न थालेपछि र सभाकक्षबाट बाहिरिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्