तपाईँ सुन्दै हुनुहुन्छः

पाँच महिनादेखि बेपत्ता रहेका ६५ वर्षीय परियारको शव फेला

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–६ ज्योति आधारभूत विद्यालय र पूर्व पश्चिम महेन्द्र राजमार्ग  सडक नजिकको खाडलमा एक वृद्ध पुरुषको शव फेला परेको छ। बैजनाथ गाउँपालिका–३ गाभर निवासी अन्दाजी ६५ वर्षीय रन बहादुर परियार शव भएको प्रहरीले जनाएको छ ।

परियार करिब ४–५ महिनाअघि सामाजिक सुरक्षा भत्ता लिन भनी घरबाट निस्किएपछि सम्पर्कविहीन रहेका थिए। शव सडिसकेको अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी चौकी सम्झनाका इन्चार्ज धन बहादुर थापाको नेतृत्वमा पुगेको  प्रहरी टोलीले मृतकको खल्तीमा भेटिएको नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र र करिब ९–१० हजार रुपैयाँ नगदको आधारमा पहिचान पुष्टि भएको छ ।

प्रहरी चौकी सम्झनाका इन्चार्ज धन बहादुर थापाका अनुसार, “शव पूर्ण रूपमा सडिसकेको थियो। मासु लगभग नष्ट भइसकेको अवस्था छ। मृत शरीरबाट करिब १०–१५ मिटर टाढा टाउको फेला परेको छ, जसले घटनालाई रहस्यमय बनाएको छ।”

घटनास्थलमा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, वडा नं. ३ का अध्यक्ष निखिल बैगार, वडा नं. ६ का वडा सदस्य खुशिराम थारुलगायत स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको रोहबरमा शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button