‘मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्को जोखिम बढ्दै’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निमार्णका संरचना बनाउँदा भएको मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्को जोखिम बढिरहेको बताउनुभएको छ ।
विराटनगरमा आज आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना संवाद कार्यक्रममा मुख्यमन्त्री कार्कीले भौतिक संरचना निर्माण गर्दा त्यसबाट आउने समस्यालाई ख्याल नगर्दाको परिणाम मनसुनजन्य विपद्को जोखिम बढेको बताउनुभयो ।
उहाँले विकास निर्माणका काम गर्दा वातावरणीय अध्ययनमा ध्यान नदिनु तथा जलवायु परिवर्तनलाई हामी आफैँले चुनौती दिइरहेकाले पनि पछिल्लो समयमा मनसुनजन्य विपद्ले प्राकृतिक क्षति, आर्थिक क्षति र मानवीय क्षति पुर्याइरहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, “अझै पनि हामीले गम्भीर रुपमा विपद्लाई लिन सकेनाँै भने केही वर्षपछि मनसुनजन्य विपदबाट हुने क्षतिलाई रोक्ने सामर्थ्य संघ, प्रदेश र स्थानीय सरकारसँग समेत नहुने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशभित्र विपद् व्यवस्थापनको लागि गर्नुपर्ने सबै किसिमको तयारी गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन समेत दिनुभयो ।
मानवीय क्षति, भौतिक क्षति तथा आर्थिक क्षतिलाई रोक्नको लागि कसरी बढिभन्दा बढी सचेतना जगाउन सकिन्छ त्यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले ,बाढी, पहिरो, आगजनी तथा भूकम्पबाट हुने विपद् पहिलो चुनौतीको रुपमा देखिएकोले बाटो, पुल तथा भौतिक पूर्वाधार लगायतका संरचना निर्माण गर्दा विपद प्रतिकार्य संरचना खडा गरेर वातावरणीय अवस्थाको अध्ययन गर्दै विकास निर्माणका काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले बाढी पहिरोले सडक पुलहरू भत्काउँदा सरकारको लगानी खेर जाने भएकाले मानव जीवन, भौतिक संरचना र प्राकृतिक स्रोत जोगाउने कुरामा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेशले ५ बर्षे ‘प्रदेश विपद् व्यवस्थापन रणनीति कार्ययोजना’ बनाएर काम अघि बढाएको बताउनुभयो ।
उहाँले कोशी प्रदेशमा मनसुनजन्य विपद्बाट जोखिममा रहेका र अति जोखिममा रहेका क्षेत्र छुट्याएर काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अति जोखिममा रहेका बस्तीलाई हामीले स्थानान्तरण गर्ने तयारी पनि गरिरहेका छौँ।”
मन्त्रालयका सचिव रामप्रसाद आचार्यले विपद् जोखिम न्युनिकरणका लागि कोशी प्रदेशमा रहेका विपद् जोखिम पूर्ण क्षेत्रको पहिचान गर्दै सोही अनुरुप प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा पूर्व सचिव केदार न्यौपानेले “मनसुन हिजो, आज र भोली” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने “२०८१ सालको मनसुन चित्रहरूमा” कार्यपत्र डीपीनेटका अध्यक्ष डा. राजु थापाले प्रस्तुत गर्नुभएको थियो ।
जल तथा मौसम विज्ञान विभाग धरानका रुद्र परियारले “२०८२ सालको मनसुन प्रक्षेपण” कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गोमा चेम्जोङले “सङ्घीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै सो कार्यक्रममा कोशी प्रदेशको “मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी” विज्ञ राम कुमार दाहाल र यस प्रसाद सुब्बाले प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्