प्रतिनिधि सभा बैठक: अझै बस्न सकेन
'सभामुखद्वारा सहमतिका लागि ५ राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल'
काठमाडौँ । प्रतिनिधिसभाको आज ११ बजेका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन ।
सभामुख देवराज घिमिरेले सहमतिका लागि ५ राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरिरहनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।
विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहगत रुपमा छलफल गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन् ।
माग सम्बोधन नभएसम्म सदनमा अवरोध कायम गर्ने रास्वपाका नेताहरूले बताउँदै आउनुभएको छ ।
यसअघि, मङ्गलवारको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि सूचना टाँसेर आज बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्