बाँकेको गुजरटोलमा वर्षौँपछि सडक कालोपत्रे
नेपालगञ्ज ,बाँके । कोहलपुर नगरपालिका–४ स्थित गुजरटोलमा एक सय ८० मिटर सडक कालोपत्रे गरिएको छ ।
कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमबाट रु २३ लाख ९६ हजार २१८ को लागतमा सो सडक कालोपत्रे गरिएको हो ।
राप्तीसोनारी गाउँपालिका–९ स्थित अनमोल निर्माण सेवाले वैशाख २८ गते सम्झौता गरेर जेठ ३० गतेभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको सहलगानीमा सञ्चालित गुजरटोलको बाटो कालोपत्रे गर्ने कार्य सम्पन्न भएपश्चात् गजुर टोलवासीमा खुसी छाएको वडा नं ४ का वडाध्यक्ष मुबारक अलि गुजरले बताउनुभयो ।
“खुसीको कुनै सीमा नै छैन, वर्षौँपछि धेरै पटक प्रयास गर्दा बल्ल सडक कालोपत्रे भयो”, उहाँले भन्नुभयो ।
वडाध्यक्ष गुजरले अझै केही मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिँदै बाँकी सडक नयाँ आर्थिक वर्षमा सम्पन्न हुने बताउनुभयो । सडक कालोपत्रे भएको सो बस्ती कोहलपुर बजारबाट साढे तीन किलोमिटर पश्चिममा पर्छ । यो एक सय ३० वर्ष पुरानो बस्ती रहेको वडाध्यक्ष गुजरले बताउनुभयो ।
नगर क्षेत्रमा विकास निर्माण कार्य भएता पनि बजार क्षेत्रबाट नजिकै अवस्थित रैथाने मुस्लिम समुदायको बाक्लो बस्ती रहेको गजुर टोलमा सडकको विकास भएको थिएन । सो टोलको बाटो कच्ची भएकाले बर्खायाममा स्थानीय बालबालिकालाई विद्यालय आवतआवत गर्न असहज थियो ।
सडक कालोपत्रे भएपछि गुजरटोलको दुई सय र बेलनपुर बस्तीका एक हजार चार सय मुस्लिम समुदायका बासिन्दामा यातायातको सहजता भएको वडाध्यक्ष गुजरले बताउनुभयो । नगरपालिका क्षेत्रमा अहिले १८ वटा सडक स्तरोन्नति तथा तटबन्धसम्बन्धी आयोजना निर्माणको काम भइरहेको छ । यस्ता योजनाले समावेशी विकास, दिगो पूर्वाधार र जनताको प्रत्यक्ष जीवनस्तरमा सुधार गर्ने दिशामा नगरपालिकालाई नयाँ उचाइमा पुर्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्