वर्षायाम सुरु भएसँगै लाग्न सक्ने रोगहरूबाट सचेत रहन जनस्वास्थ्य विद्को सुझाव

काठमाडौँ । वर्षायाम सुरु भएसँगै खानेपानीका मुहान दूषित हुने र विभिन्न प्रकारका किरा फट्याङ्ग्राको टोकाइलगायतका कारण झाडापखाला, हैजा, आउँ, डेंगी लगायतका सरुवा रोगहरू फैलने गर्दछ ।
त्यस्ता रोगहरूबाट बच्न शुद्ध खानेपानी प्रयोग गर्नुपर्ने, लामखुट्टे, भुसुना लगायतका किरा फट्याङ्ग्राको टोकाइबाट जोगिनुपर्ने जनस्वास्थ्यविद्हरूको सुझाव छ ।
वर्षातको समयमा आउने बाढी–पहिरो जस्ता प्राकृतिक विपत्तिसँगै पानीको स्रोत प्रदूषित हुने हुँदा सरुवा रोगको संक्रमण फैलने खतरा बढ्ने गर्दछ ।
वर्षायाममा बाढी–पहिरो तथा भलहरू खानेपानीका मुहानमा मिसिनाले खानेपानीको स्रोत दूषित हुने गर्दछ । जसका कारण यस समयमा झाडापखाला, फुड पोइजनिङ, हैजा, टाइफाइड, भाइरल, जण्डिस, आउँ, निमोनिया, रुघाखोकी, पेटमा इन्फेक्सन, छालामा फङ्गस, आँखा पाक्ने जस्ता रोगको संक्रमण बढ्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।
त्यसैगरी वर्षायाममा परेको पानी जमेका स्थानमा लामखुट्टे, झिँगा, भुसुना लगायतका किरा फट्याङ्ग्रा बढ्ने गर्दछन् जसका कारण मलेरिया, कालाजार, डेंगु लगायतका रोगहरू फैलिन सक्ने जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी बताउनुहुन्छ ।
वर्षातको समयमा आउने बाढी–पहिरो जस्ता प्राकृतिक विपत्तिसँगै पानीको स्रोत प्रदूषित हुने हुँदा सरुवा रोगको संक्रमण फैलने खतरा बढ्ने गर्दछ ।
वर्षायाममा फैलन सक्ने रोगहरूबाट बच्न मुख्य रुपमा शुद्ध पिउने पानी र स्वच्छ खानेकुरा खाने, लामखुट्टे, भुसुना तथा अन्य किरा फट्याङ्ग्राहरूको टोकाइबाट जोगिन किटनाशक झुलको प्रयोग गर्ने लगायतका सावधानी अपनाउनुपर्ने जनस्वास्थ्य विद्हरूको सुझाव छ ।
गर्मी र वर्षातको समयमा हुने अधिकांश रोग र समस्या खानपान र सरसफाइसँग जोडिने भएकाले व्यक्तिगत रुपमा सतर्क रहँदै सावधानी अपनाउन सकेमा धेरै रोग र समस्याबाट जोगिन सकिने पनि जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीको भनाई छ ।
वर्षायाममा सर्पको डसाइका कारण पनि वर्षेनी मानिसहरूको ज्यान जाने गरेको छ । यस्तै जङ्गली च्याउको प्रयोगबाट नेपालमा प्रत्येक वर्ष झण्डै २ दर्जन व्यक्तिको ज्यान जाने गरेको तथ्याङ्क रहेको छ । वर्षायाममा लाग्नसक्ने विभिन्न प्रकारका रोगहरूबाट बच्नका लागि खानेपानीलाई शुद्धीकरण गरेमात्रै प्रयोग गर्ने, व्यक्तिगत तथा आफ्नो वरिपरिको वातावरण सरसफाइमा ध्यान दिने, खाल्डाखुल्डीमा पानी जम्न नदिने साथै जङ्गली च्याउ प्रयोग नगर्न पनि जनस्वास्थ्य विद्हरूको सुझाव रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्