एघारौँ विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
काठमाडौँ । एघारौँ विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योग गुरुसहितका प्रतिनिधिको छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकार स्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो । प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री रघुजी पन्त, जीवन विज्ञान संस्थाका संस्थापक एलपी भानु शर्मा र गुरु रमेश नेपाल, मूल समारोह समितिका सदस्यसचिव शिवकुमार सापकोटालगायत सहभागी हुनुन्थ्यो ।
हरेक जुन २१ (असार ७) मा मनाइने यो दिवसको यस वर्षका लागि ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यका साथ मनाउने तय गरिएको छ । दिवस मनाउन गत जेठ २९ गते शिक्षा मन्त्रालयमा शिक्षामन्त्री पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको उपस्थितिमा भएको बैठकले शिक्षामन्त्री पन्तको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्