राप्ती राजमार्ग अवरुद्ध
सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै पहिरो जाँदा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गएरातिदेखि परेको लगातार वर्षापछि आएको ठूलो पहिरोले कपुरकोट–दाङ सडकखण्डको चोरखोलामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीका अनुसार, सडकमाथिबाट खसेको ठूलो पहिरोका कारण सडक खुलाउन समय लाग्ने देखिएको छ। प्रहरी तथा सडक डिभिजन कार्यालयको टोली पहिरो गएको स्थानमा गएराति नै पुगेर पहिरो हटाउने कार्यमा खटिएको बताइएको छ।
चोरखोलामा निरन्तर पहिरो जाने क्रम जारी रहेकाले यस खण्डमा बारम्बार राजमार्ग अवरुद्ध हुँदै आएको छ। सडक अवरुद्ध भएपछि यात्रु बोक्ने तथा मालबाहक सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।
प्रतिक्रिया राख्नुहोस्