तपाईँ सुन्दै हुनुहुन्छः

खाद्यान्न बोकेको गाडी दुर्घटना: बाबुको मृत्यु, छोरी र चालक घाइते

इलाम। इलाम नगरपालिका–११, आलेमा मङ्गलबार साँझ एक पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बिर्तामोडबाट मङ्गलबारेतर्फ खाद्यान्न बोकेर गइरहेको प्र.१–०१–००१ च ९७७८ नम्बरको पिकअप गाडी साँझ ७:०५ बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी झापा खुदुनाबारी निवासी तथा हाल देउमाई नगरपालिका–०९ नवमी बजारमा व्यवसाय गर्दै आएका ३८ वर्षीय विष्णु पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। उनको नाक र अनुहारमा गम्भीर चोट लागेको थियो र उपचारका क्रममा प्रदेशिक अस्पताल भद्रपुरमा निधन भएको हो।

दुर्घटनामा पराजुलीकी करिब ८ वर्षीया छोरी प्रेयन्सा पराजुली पनि घाइते भएकी छन्। उनको दायाँ गालामा चोट लागेको छ र हाल बिर्तामोडस्थित BNC अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।

त्यस्तै, गाडी चालक २२ वर्षीय आइतबहादुर लिम्बु (देउमाई–०९, जितपुर) पनि घाइते भएका छन्। उनको निधारमा चोट लागेको छ र उनको पनि BNC अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि उद्धारमा खटिएका प्रहरी चौकी चिसापानीमा कार्यरत प्रहरी नायव निरीक्षक बुद्धीबहादुर कटुवाललाई अरिङ्गालले टोकेर घाइते बनाएको छ। उनको उपचार स्थानीय मेडिकलमा भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनापछि पिकअप गाडी घटनास्थलमै रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button