एपिएफलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि
कास्की । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरा रंगशालाको कभर्डहलमा भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो ।

त्यसै गरी तेस्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लबलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड तेस्रो स्थानमा रहेको छ । न्यु डायमन्डले एभरेष्ट क्लबलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।
लिग चरणको पहिलो खेलमा पुलिसले एपिएफलाई जितेको थियो भने पुलिसले नवौं एनभिए कप करिब दुई साता अघि पोखरामा भएको प्रतियोगिताको विजेता टिम हो । एपिएफले पुलिससँग बदला लिँदा उपाधि चुम्यो । प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा एपिएफकी निरुता ठगुन्ना घोषित हुनु भयो । त्यसै गरी प्रतियोगिताको उत्कृष्ट सेटरमा एपिएफकी जसना महतो, उत्कृष्ट स्पाइकरमा पुलिसकी उषा भण्डारी, उत्कृष्ट सर्भरमा एपिएफकी सृष्टि खड्की, उत्कृष्ट ब्लकरमा न्यु डाइमण्डकी सुमित्रा रेग्मी, उत्कृष्ट लिब्रोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकमा भने एपिएफका पुष्पजंग मल्ल घोषित हुनु भयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन तथा विकासका लागि पोखरामा उक्त प्रतियोगिता यही जेठ २७ गतेदेखि सुरु भएको अध्यक्ष कोइरालाले जनाउनु भयो । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल सङ्घको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता पोखरामा भएको हो । प्रतियोगितामा ६ टिम सहभागिता भएका थिए ।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल सङ्घको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिता भएको हो ।
प्रतिक्रिया राख्नुहोस्