निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन देखापरेका चुनौतीहरूको समाधान गर्न निर्वाचन पद्धति र प्रणालीबारे गम्भीर विवेचना गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

संविधानविद् वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालमा निर्वाचन प्रणाली: तुलनात्मक अध्ययन’ पुस्तकको आज यहाँ सार्वजनिकीकरण गर्दै उहाँले शासन प्रणालीमा आएका समस्या तथा निर्वाचन प्रणालीका चुनौतीका विषयमा बृहत् छलफल गर्नुपर्ने समय आएको बताउनुभयो ।
उहाँले कार्यान्वयन गर्ने तहमा इमानदारिताको समस्या वा प्रणालीमा समस्या केहो भन्नेमा बहस हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । सरकारले स्थायित्व प्राप्त गर्न नसक्ने, सङ्घीय संसद्को प्रभावकारी भूमिका निर्वाह र सरकारलाई निर्दिष्ट गर्न आइरहेका समस्या व्यवहार वा नीतिगत के हुन् भन्नेबारे छलफलका लागि सभामुख घिमिरेले बुद्धिजीवी सबैलाई आह्वान गर्नुभयो । “आचार विचार र पद्धतिका समस्या हुन् कि संविधानको व्यवस्था वा निर्वाचन प्रणालीको समस्या हो, त्यसमा गहिरो विवेचना गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।
पैरवी बुक हाउस प्रालिद्वारा आयोजित कार्यक्रममा सभामुख घिमिरेले पुस्तक सार्वजनिकीकरण गर्दै भविष्यमा अपनाउनुपर्ने निर्वाचन प्रणालीबारे सबै निकाय र तहमा बहस हुनुपर्नेमा जोड दिनुभयो । उक्त पुस्तक पैरवी बुक हाउसले प्रकाशनमा ल्याएको हो ।
प्रतिक्रिया राख्नुहोस्