स्वदेशी काठको उपयोग बढाउने गरी काम गरिरहेका छौँ: वनमन्त्री शाही
काठमाडौँ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा सरोकार समितिले समितिबाट भएका निर्देशनहरूको कार्यान्वयन गर्न वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
समितिले आज वन तथा वातावरण मन्त्रालयलाई यसअघि दिइएको निर्देशन कार्यान्वयनको अवस्थाका विषयमा छलफल गरी बन मन्त्रालयलाई निर्देशन कार्यान्वयनका लागि आग्रह गरेको हो ।

छलफलमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले स्वदेशी काठको उपयोग बढाउन र सहजीकरण गर्न विभिन्न नीति र रणनीतिहरू बनाएर अगाडी बढिरहेको बताउनुभयो ।
मन्त्री शाहीले विदेशी काठ आयात विस्थापन गर्नेगरी स्वदेशी काठ उत्पादन र प्रयोग बढाउन नीति तथा कार्यक्रम र बजेट मार्फत विभिन्न कार्यक्रम ल्याइएको पनि जानकारी गराउनुभयो ।
बैठकमा सांसदहरुले वनको संरक्षण र स्वदेशी काठको उपयोग बढाउने गरी सरकारले काम गर्नुपर्ने, सरकारी भौतिक संरचना निर्माण गर्दा स्थानीय काठको प्रयोग गर्न अनिवार्य गर्नुपर्ने, विदेशी काठ आयातलाई रोक्नुपर्ने तथा वृक्ष रोपण र बन संरक्षणका लागि विशेष योजना ल्याइनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्