चर्को गर्मीका कारणले जनकपुरधामका सबै विद्यालय बन्द, जनजीवन प्रभावित

जनकपुरधाम । विगत केही दिन देखि चर्को घाम सँगै मधेश प्रदेशका जिल्लाहरूमा तापक्रम बढेर विद्यार्थीहरू कक्षा कोठामा नै मुर्छित हुन थालेपछि प्रदेशका केही पालिकाहरुले मातहतका विद्यालयहरू बन्द हुन थालेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गरेको छ । आज र भोली गरेर उपमहानगरपालिकाका सबै विद्यालयहरूमा पठन पाठन बन्द भएको जनाएको छ ।
वर्षे बिदाबाट कट्टा हुने गरि विद्यालयहरू बन्द भएको शिक्षा तथा खेलकुद विकास शाखाकाका प्रमुख धीरेन्द्र लाल कर्णले जानकारी दिनु भएको छ । खास गरेर बिहान देखि साझ ६ बजेसम्म चर्को घाम सँगै अत्यधिक गर्मी भएका कारणले जनजीवन नराम्रोसँग प्रभावित हुने गरेको छ ।
दिउँसाको तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्नुका साथै गर्मीको अनुभूति ५० डिग्रीको हुने गरेको छ । विगत केही दिन यता यो तापक्रम बढ्ने क्रम दिनहुँ जस्तो हुने गरेको छ ।
खास गरेर अत्यधिक गर्मीका कारणले शरीरको विभिन्न भागमा घाउ खटिरा आउने, पेट दुख्ने, वाक वाक लाग्ने, टाउको दुख्ने तथा खाना नरुच्ने जस्ता समस्याहरू आउने गरेको छ । गर्मी तथा घामबाट जोगिनका लागि अत्यधिक मात्रामा पानी तथा झोलिलो पदार्थ सेवन गर्नु पर्ने सुझाव चिकित्सकहरूले दिनु भएको छ ।
सकभर चर्को घाम भएको वेलामा घर बाहिर ननिस्कने निस्कनै परेको खण्डमा टाउको छोप्ने, छाता ओढ्ने, पुरा शरीर ढाक्ने गरि पातलो कपडा लगाउनु पर्ने सुझाव चिकित्सकहरूले दिनु भएको छ । अत्यधिक गर्मीका कारणले सबै भन्दा बढी गरिब तथा दैनिक मजदूरी गरेर खाने श्रमिक वर्गका व्यक्तिहरू मारमा परेका छन् ।
प्रतिक्रिया राख्नुहोस्