तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को गतिरोध चाँडै अन्त्य हुन्छ: मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाको गतिरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री गुरुङले गृहमन्त्रीले राजीनामा दिने कुरा अनुपयुक्त भएको जिकिर गर्दै संसदीय छानबिन समिति बनाउने कुरा भइरहेकाले प्रतिनिधिसभाको गतिरोध छिट्टै अन्त्य हुने बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले भिजिट भिसा प्रकरणमा अख्तियारले कर्मचारी माथि छानबिन सुरु गरिसकेको र त्यसबाट धेरै कुरा प्रष्ट हुने पनि बताउनुभयो । 

जेठ २६ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै पत्रकार सम्मेलनमा सञ्चार मन्त्री गुरुङले सरकारले नेपाल गुणस्तर प्रमाण चिन्ह तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

यस्तै सरकारले निर्माण व्यवसाय सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, प्राचीन स्मारक संरक्षण सम्बन्धि विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो । 

यस्तै मन्त्रीपरिषद् बैठकले उच्चस्तरमा हुने विभिन्न भ्रमणहरू स्वीकृत गर्नुका साथै ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गरेको छ । 

ललितपुरको महालक्ष्मी नगरपालिकाको केन्द्र वडा न -४ कमलपोखरीबाट परिवर्तन गरी वडा न-८ को लुभू देवीस्थान कायम गरिएको छ ।

यस्तै दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गरी  वडा नं ४ चिराघाटबाट वडा नं ४ कै जुम्लेकुलामा कायम गरिएको छ ।

मन्त्रीपरिषद् बैठकका निर्णयहरू

प्रतिक्रिया राख्नुहोस्

Back to top button