संसदीय अवरोध अन्त्य गर्न विपक्षी दलहरूको बैठक जारी
काठमाडौँ । संसदीय गतिरोध अन्त्यका विषयमा साझा धारणा बनाउन प्रतिपक्षी दलहरूको बैठक बसिरहेको छ ।
संसद् भवन बानेश्वरमा जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अघि सारेका पाँच बुँदे प्रस्तावमाथि साझा धारणा निर्माण गर्ने प्रयास भइरहेको नेताहरूले बताउनुभएको छ ।
प्रतिपक्षी दलहरुबीच एउटा साझा धारणा बनाएर सत्तारूढ दलसँग पुनः छलफल गर्ने तयारी प्रतिपक्षीले गरिरहेको छ ।
रास्वपाले संसद्को अवरोध खोल्नका लागि नेपाली काङ्ग्रेससमक्ष गत सोमबारको बैठकमा पाँच बुँदे प्रस्ताव पेस गरेको थियो ।
बैठकमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेताहरू सहभागी हुनुहुन्छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन समितिको माग राखेर प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्