तपाईँ सुन्दै हुनुहुन्छः

फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

भरतपुर (चितवन)। चारैतिरबाट वनजङ्गलले घेरिएको सुन्दर चितवनको माडी उपत्यका । कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको माडीभित्र एउटा सुन्दर गाउँ निर्माणमा जुटेका छन् अयोध्यामार्गका महिलाहरू । माडी नगरपालिका–८ स्थित अयोध्यामार्ग प्रवेश गर्नासाथ जोकोहीको मन प्रफुल्लित हुन्छ । यहाँका महिलाहरूले सृजनात्मकता र संस्कार झल्किने गाउँको परिवेश निर्माण गरिरहेका छन् ।

पक्की सडकको दायाँबाँया रहेका मौलिक प्रकारका घर । सबै घरको आँगनमा फूलबारी । सडकको दायाँबायाँ राखिएका ढुङ्गामा लगाइएका रङले झन् यहाँको सौन्दर्य बढाएको छ । यसका पछाडि स्थानीय समुदाय, विशेषतः महिलाहरूको अगुवाइमा भएको कामले अयोध्यामार्ग माडीको एक नमूना बस्तीका रूपमा परिचित बन्दै गइरहेको छ ।

अयोध्यामार्गस्थित फूलबारी महिला समूहकी अध्यक्ष सुजिता पाण्डे गाउँमा दैनिक आउने पर्यटक र उनीहरूले गर्ने गरेको प्रशंसाले दङ्ग हुनुहुन्छ । “गाउँकै स्वप्नम आलेमगर दिदीले घरमा ढकमक्क फूल रोपेको देखेर लाग्यो, हामीले पनि किन नरोप्ने ? उहाँबाटै प्रेरित भएर घरघरमा गमला राख्न थाल्यौँ । सडक किनारामा ढुङ्गा राख्ने, त्यसमा रङ लगाउने अनि गाग्री ल्याएर सजाउने क्रम अघि बढ्यो । अहिले २५ घरमा यस्तै आकर्षक सजावट र ढकमक्क फूल देख्न सकिन्छ । अहिले गाउँ नै फूलबारीजस्तै देखिन थालेको उहाँले बताउनुभयो ।

समूहले नियमित बैठक, वार्षिक कार्ययोजना, कार्यविभाजन, पारदर्शी बजेट सञ्चालनजस्ता अभ्यासलाई प्राथमिकता दिँदै आएको पाण्डेले बताउनुभयो । देउसीभैलो, सामूहिक खेती, धार्मिक कार्यक्रम, सहयोग कोष सञ्चालनलगायत गतिविधिले सामाजिक र आर्थिक सशक्तीकरणमा समेत टेवा पुगेको उहाँको भनाइ छ । गाउँलाई आकर्षक बनाउन सहयोग गर्ने दाताहरूको नाम सार्वजनिक सूचना बोर्डमा उल्लेख गर्ने अभ्यासले पारदर्शिता र आपसी विश्वास निर्माण गरेको उहाँले बताउनुभयो । “पर्यटकको आवागमन देखेर गाउँलाई होमस्टेसमेत सञ्चालन गर्ने तयारीमा छौँ, उहाँले भन्नुभयो, “माडीको धार्मिक सांस्कृतिक र मौलिक ग्रामीण जीवनशैलीको अनुभव गराउने योजना छ ।”

यहाँ रङ्गिएका ढुङ्गा र गमलामात्र होइन, हरेक घरको अगाडि राखिएको फूलसहितको कलशले यहाँको सांस्कृतिक चेतना पनि झल्काउँछ । “कलस राख्नाले शुभसङ्केत दिन्छ, स्वागत र शुभयात्राका लागि पनि राम्रो मानिन्छ”, सुजिताले भन्नुभयो । गाग्रीमा पानी हाल्ने चलनले घर सजिएको मात्रै होइन, समुदायमा स्वच्छता र सौन्दर्यप्रतिको चेतना पनि बढेको उहाँ बताउनुहुन्छ ।

यो अभियान कुनै सरकारी निकाय वा सङ्घसंस्थाले सञ्चालन गरेको कार्यक्रम होइन, स्थानीय महिलाहरू आफैँ पैसा उठाएर, समय र श्रम दिएर गाउँलाई सिङ्गारिरहेका छन् । सँगसँगै उनीहरूले गाग्री नराख्ने घरलाई सचेत गराउने र सरसफाइमा लापरवाही गर्नेलाई कारबाही गर्ने अभ्यासले गाउँमा अनुशासन पनि कायम राखेका छन् । गाउँको यो परिवर्तनले सामाजिक सम्बन्धमा पनि मिठास थपेको छ । आमा समूहकी सचिव सीमा पन्त नजिकैको विद्यालयमा पढाउनुहुन्छ । उहाँले बचेको समय गाउँघरको सन्दौयकरणका लागि खर्च गर्नुभएको छ । “समुदायसँग जोडिएपछि समाजमा आत्मीयता बढेको छ । पहिले समाजसँग खासै वास्ता नगर्नेहरू पनि अहिले सरसफाइ, बगैँचा बनाउने काममा लागेका छन्”, उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “अब त एउटा घरमा बनेको परिकार छिमेकीसँग साटासाट गर्न थालिएको छ । ढोका खोल्नुपर्दैन, सिधै पस्न सकिन्छ, खान सकिन्छ । कसैको बाख्रा फुक्यो भने अरूले गएर बाँधिदिन्छ । चराउन लैजानुपर्यो भने सहयोग पाइन्छ ।”

अहिले यहाँ टाढाटाढाबाट पर्यटक यहाँको परिवेश हेर्न र फोटो खिच्न आउने गरेका छन् । “घुम्न आउनेका कारण शनिबारको दिन त फुर्सद नै हुँदैन, पन्तले भन्नुभयो, धेरै काम गर्न बाँकी छ, गाउँलाई धपक्कै बल्ने बनाउन मन छ ।” यहाँ भएको परिवर्तन केवल बाह्य सौन्दर्य नभई समुदायको सामूहिक भावना र सामाजिक पुनर्जागरणको प्रतिबिम्ब पनि बनेको उहाँको अनुभव छ ।

यहाँका सडकका दायाँबायाँ नेपाली राष्ट्रिय झन्डा र सडक किनाराका ढुङ्गामा चेतनामूलक सन्देश कुँदिएका छन् । बाँसको डोकाबाट फोहर सङ्कलन गर्ने प्रविधि, प्लास्टिकजन्य वस्तुको छुट्टाछुट्टै व्यवस्थापनजस्ता अभ्यासले यहाँका बासिन्दामा वातावरणीय जागरूकता बलियो बनाएको माडी नगरपालिका–८ का पूर्ववडाध्यक्ष कृष्णप्रसाद अधिकारी बताउनुहुन्छ । “बाटो सफा छ, हरियाली र सौन्दर्यपूर्ण देखिन्छ । न कतै फोहर छ, न त अराजकता”, उहाँले भन्नुभयो । फूलबारी महिला समूहको अगुवाइमा सञ्चालनमा आएको सरसफाइ अभियान अहिले माडी नगरभित्रकै उदाहरण बनेको उहाँले बताउनुभयो ।

वैदिक सनातन सांस्कृतिक सम्पदा सङ्घ माडीका सल्लाहकार रेशम सापकोटाले अयोध्यामार्गका दृश्यहरू केवल बाहिरी सौन्दर्यमात्र नभई यहाँका महिलाहरूको सौन्दर्यप्रेम, मेहनत र सामुदायिक चेतनाको सङ्केत पनि भएको बताउनुभयो । अयोध्यामार्ग माडीको नयाँ पर्यटकीय गन्तव्य बन्ने भन्दै उहाँले ग्रामीण सौन्दर्यको अलौकिक सङ्गम बनिरहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button