साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछ: मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबिच आज साइकल यात्राको महत्व झनै बढ्दै गएको बताउनुभएको छ ।

आज काठमाडौँमा मारवाडी समिति नेपाल अन्तर्गतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल दिवश तथा विश्व वातावरण दिवसको अवसर पारेर “वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले साइकल यात्राले स्वास्थ्य र सफाइको सन्देश दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ सहरको सन्देश पनि पुर्याउँछ । हामी सबैले व्यक्तिगत तथा सामूहिक दुवै तहमा हरित भविष्यको कल्पना गर्नुपर्छ ।”

मन्त्री यादवले सरकारले वातावरणमैत्री यातायातको प्रवद्र्धन गर्न आवश्यक नीति तथा पूर्वाधारमा लगानी गर्ने बताउनु हुँदै विद्यालय, कार्यालय, तथा स्थानीय तहहरूमा समेत साइकल प्रयोगलाई प्रोत्साहन गर्नु पर्ने समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्वस्थ जीवन, हरित वातावरण र साकार सकारात्मक सोच प्रवद्र्धन गर्ने यस्तो प्रेरणादायी कार्यक्रम सबै ठाउँमा गर्न आवश्यक छ । साइकल प्रयोगलाई प्रोत्साहन गर्न हामी सबै लाग्नु पर्छ ।”
वातावरण जोगाउन र प्रदूषण मुक्त समाज बनाउन मारवाडी सेवा समाजले अगुवाइ गरी उल्लेख्य भूमिका निर्वाह गरेको बताउनु हुँदै मन्त्री यादवले वातावरण सफा कसरी गर्ने, हाम्रो वातावरण कसरी स्वच्छ राख्ने सो विषयमा लाग्नु पर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण सेता हिमाल काला हुन थालेका छन् । हिमाल बचाउन जरुरी छ । जलवायु परिवर्तन हाम्रा लागि निकै चुनौतीको विषय बनेको छ । यो चुनौतीको समाधान गर्न आवश्यक छ ।”
साइकल यात्राले शारीरिक तन्दुरुस्ती सहित वातावरणीय चेतनाको प्रवाह पनि गर्ने भएकाले आजको युगमा यो अत्यन्त सान्दर्भिक रहेको मन्त्री यादवले बताउनुभयो ।
कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष एवं कार्यक्रमका सभापति प्रकाशकुमार केजरीवालले साइकल प्रयोग गर्नाले व्यक्तिगत तन्दुरुस्ती बढ्नुका साथै यसले सहरको ध्वनि र वायु प्रदूषण पनि घटाउने बताउनुभयो ।
कार्यक्रम सञ्चालन मारवाडी युवा मञ्चका महासचिव रितेश जाजोदियाले गर्नु भएको थियो । कार्यक्रममा पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडिया, मारवाडी महिला मञ्चकी अध्यक्ष श् रेखा खेतान, कार्यक्रम संयोजक अरुण गोयल, मारवाडी सेवा समितिका पदाधिकारीहरू, मारवाडी युवा मञ्चका पदाधिकारीहरू तथा कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो ।
आजको उक्त कार्यक्रममा दर्जनौँ साइकल यात्रीहरूको सहभागिता रहेको थियो । काठमाडौँको बिवाईडी पार्किङ नक्सालबाट सुरु भएको उक्त यात्रा यहाँका विभिन्न क्षेत्र हुँदै ललितपुरको पाटन दरबार क्षेत्रमा गएर समापन गरिएको कार्यक्रम संयोजक अरुण गोयलले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्