तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मुस्लिम समुदायद्वारा बकर ईद श्रद्धाका साथ मनाइयो

बाँके ।इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व इद-उल-अजहा (बकर ईद) शनिबार बाँकेमा सामूहिक नमाजसहित मनाइएको छ। नेपालगन्ज, बेतहनी र नरैनापुर क्षेत्रहरूमा पर्वको रौनकले चहलपहल बढाएको छ।

नेपालगन्जको बीपी चौक र बेतहनीको जाफरपुरवास्थित इदगाहमा मुस्लिम समुदायका हजारौँ मानिस बिहानैदेखि भेला भएर शान्ति र समृद्धिको कामना गर्दै नमाज पढेका थिए। उनीहरूले एकअर्कालाई अंगालो मार्दै शुभकामना साटासाट गरे।

तीन दिनसम्म मनाइने यो पर्व हज र कुर्वानी (बलि) दिने परम्परासँग जोडिएको छ। धर्मगुरु जाफर रजाका अनुसार बकर ईदमा हज जानु र पशु बलि गर्नु मुस्लिम धर्ममा अनिवार्य मानिन्छ। नमाजपछि राँगा, खसी, बाख्रा, भेडा, उँटजस्ता पशुहरूको बलि दिने चलन छ।

कुर्वानी दिइएको जनावरको मासु तीन भागमा बाँडिन्छ— एक भाग परिवारका लागि, अर्को छरछिमेक तथा आफन्तका लागि, र तेस्रो भाग विपन्नलाई दिने परम्परा रहेको धर्मगुरु मिस्बाहीले जानकारी दिनु भयो।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले पर्वको शुभकामना दिँदै सामूहिक नमाज र शुभकामना आदानप्रदानबाट आपसी सद्भाव, सहिष्णुता र भाइचारा सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button