लामिछानेले अति बिषालु सहित १९ प्रजातिका ३ सय ३८ सर्पको उद्धार गरे
नवलपरासी।बर्दघाट नगरपालिकाका सर्प उद्धारकर्मी दुर्गा लामिछानेले सर्पको उद्धार मात्रै होइन कयौँलाई सर्पको टोकाईबाट हुने सम्भावित दुर्घटना बाट पनि जोगाएका छन् ।चौबिसै घण्टा उनी तयार रहन्छन् ।फोनको घण्टी बज्ने बित्तिकै उनी राती होस या दिउँसो उद्धार गर्न पुगिहाल्छन् ।एक बर्ष को अवधिमा मात्रै उनले सयौँ सर्पको उद्धार गरेका छन् ।
उनका अनुसार वि. सं. २०८१ मा मात्रै नगरपालिका भित्र १९ प्रजातिका ३३८ वटा सर्पहरूको उद्धार गरिएको छ ।लामिछाने उपलब्ध गराएको तथ्याङ्क अनुसार उद्धार गरिएका सर्पहरूमा गोमन सर्प १३८ वटा , करेत ३९ वटा , अजिङ्गर ३८ वटा , धामन २९ वटा पानी सर्प, २६ वटा , बाघे सर्प, १६ वटा ,ब्वाँसे सर्प ८ वटा , सानो सिँगारे सर्प ६ वटा,अन्धो प्रजाति मानिने सर्प ६ वटा, हरहरे सर्प ५ वटा, कालो टाउके सर्प ५ वटा , खुकुरी सर्प ४ वटा , सिरिसे रुख सर्प ४ वटा , बतासे सर्प ४ वटा , हर्यौ सर्प ४ वटा , सिँगारे सर्प ३ वटा , अलिभ किलब्याक सर्प १ वटा , तक्षक नाग भनिने गरिएको सर्प१ वटा , तथा राज गोमन १ वटा थिए ।
विषाक्तताका आधारमा हेर्दा उद्धार गरिएका सर्पहरूमा ५९ प्रतिशत विषालु , १ प्रतिशत मन्द विषालु तथा ४० प्रतिशत विषालु सर्प रहेका छन् ।नगरपालिकाका १६ वटा वडा मध्ये २०८१ सालमा मा सबैभन्दा बढी सर्प उद्धार वडा नं ४ बाट गरिएको लामिछानेको भनाई छ ।
उनको यो कार्यले जैविक विविधता सँगै वातावरण सन्तुलनमा टेवा पुऱ्याएको छ । यद्यपि मानव बस्ती तथा वनजङ्गल निकट भएका कारण बेलाबखत मानव र प्रकृति बिच द्वन्द्व सृजना पनि भइरहेकै छ जसको एक उदाहरण सर्पदंश पनि हो ।तराईमा गर्मी महिनामा सर्पदंशका घटनाहरू देखा पर्ने गरेका छन् ।
लामिछानेलाई उद्धारका कार्यमा सहजताका लागि नगरप्रमुख शम्भुलाल श्रेष्ठले निजी मोटरसाइकल उपलब्ध गराएका छन् भने नगरपालिकाले निश्चित मापदण्डका आधारमा प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले समेत उनको यो कार्यलाई खुलेर सहयोग गर्दै नगरले कानुनी दायरामा रहेर दिन सक्ने सेवा सुविधाहरू उपलब्ध गराउँदै आएका छन् ।
यद्यपि उद्धारका लागि आवश्यक श्रोत साधनमा कमी, उद्धारकर्मीलाई आवश्यक तालिमको व्यवस्था नहुनु , तथा जनमानसमा अझै पनि सचेतनाको कमी रहेको देखिन्छ ।
उद्धारकर्मीहरूको शारीरिक, तथा सामाजिक सुरक्षा हुन सकेमा सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्प उद्धारमा खटिन थप प्रोत्साहन मिल्ने लामिछाने बताउँछन् ।”नटोक्ने बेला सम्म पो केही हुन्न टोकेपछि त के हो केहो ,बाहिर बाट हेर्दा जति सामान्य छ त्यति सहज छैन,भर्खर मात्रै भारतीय चर्चित सर्प उद्धारकर्ता मुरलिवालाको अवस्था देखिहाल्नु भो “लामिछानेको भनाई छ ।
लामिछानेले उद्धार गरेका सर्पका तस्वीर र उनको यो अभिलेख तयार पार्न फोटो पत्रकार राज अधिकारीले सहयोग गरिरहेका छन् भने स्थानीय व्यक्ति तथा संघ संस्थाले समेत उनलाई हौसला प्रदान गर्दै आइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्