तपाईँ सुन्दै हुनुहुन्छः

दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै बस्न सकेन

काठमाडौँ । प्रतिनिधि सभाको आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन ।

अवरुद्ध प्रतिनिधिसभा बैठक चल्न दिने/नदिने भन्ने विषयमा छलफल गर्न जारी प्रतिपक्षी दलहरूको बैठक नसकिएकाले सदन सुरु हुन ढिलाइ भइरहेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी गराउनुभएको सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो ।

यसअघि आजै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको गतिरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो । सभामुख घिमिरेले संघीय संसद् सचिवालय सिंहदरबारमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभएको हो ।

बैठकमा सभामुख घिमिरेले राजनीतिक दलहरुबीच सहमतिका लागि पटक पटक संसद् बैठक स्थगित गरेपनि निकास नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । प्रतिपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिनका लागि संसदीय समिति वा न्यायिक छानबिन आयोग बनाउनु पर्ने माग राख्दै यही जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।

सत्तापक्ष दलहरूले भने प्रतिपक्षी दलहरूको मागमा सहमत हुन नसकिने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button