तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा १९ हजार बढी पशुपन्छीलाई खोप तथा उपचार सेवा  

बाजुरा । बाजुरामा १९ हजार बढी पशुपन्छीलाई खोप तथा उपचार सेवा प्रदान गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको बाजुराको सहयोगमा सञ्चालन गरिएका पशु शिविरबाट जिल्लाका ५ सय ५२ कृषकका १९ हजार ९ सय ६६ पशुपन्छीलाई विभिन्न रोग विरुद्धको खोप तथा उपचार सेवा दिइएको हो।

आर्थिक बर्ष ०८१/०८२ को ५ लाख वार्षिक बजेट मार्फत जिल्लाका बडिमालिका र बुढिगंगा नगरपालिका तथा खप्तड छेडेदह तथा गौमुल गाउँपालिकाका विभिन्न गाउँहरूमा सञ्चालन गरिएको शिविरमा पशुपन्छीमा हुने विभिन्न खालका रोग विरुद्ध खोप तथा चेकजाँच र उपचार सेवा दिइएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले जनाएको छ। 

भेडा,बाख्रा,भैँसी,गोरु, कुकुर,कुखुरा लगायत पशुपन्छीका लागि निःशुल्क सञ्चालन गरिएका एक दिने पशु शिविर मार्फत महामारी नियन्त्रणका लागि पिपिआर खोप खोरेँत खोप ६ मासे इटि खोप र रेबिज विरुद्धको खोप तथा पशु बन्ध्याकरण गर्नुका साथै आन्तरिक परजीवीका लागि जुका,खोकी,निमोनिया लगायत रोगको औषधि वितरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशिले बताउनुभयो ।

घरदैलोमै निःशुल्क पशु शिविर सञ्चालन भई खोप तथा उपचार सेवा बाट आफ्ना पशुपन्छी लाभान्वित हुन पाउँदा स्थानीय पशुपालक किसानहरु समेत खुशी देखिएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले बिगत लामो समय देखि पशुपालक किसानहरूका लागि यस्ता शिविरहरू सञ्चालन गर्दै आएको छ । यो सँगै जिल्लाका ९ ओटै स्थानीय तहमा बाख्राको नश्ल सुधारका लागि उन्नत जात जमुनापारिका २१ ओटा बोकाहरू किसानहरूलाई हस्तान्तरण गरिएको पशु सेवा प्राविधिक भिम दानिले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button