तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता दोस्रो संशोधन विधेयकलाई छिटो टुङ्ग्याउन संसदीय समितिलाई गृहमन्त्रीको आग्रह

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकलाई छिटो टुङ्ग्याउन राज्यव्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभएको छ । 

समितिको आज बसेको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ता सांसदहरूसँगको छलफलपछि मन्त्री लेखकले विधेयकको संवेदनशीलतालाई ध्यान राख्दै छिटो सकिने गरी छलफल अगाडी बढाउन आग्रह गर्नुभयो ।

गृहमन्त्री लेखकले नेपाली आमाबाट जन्मिएर नेपालमा नै बसोबास गरेका र बाबुको ठेगाना खुल्न नसकेकाहरूलाई पनि जिल्ला प्रशासनबाट नै नागरिकता प्रदान गर्नेगरी नियमावली निर्माणको काम भइरहेको पनि जानकारी गराउनुभयो ।

उहाँले विधेयक पास हुने बित्तिकै देशभरिबाट नागरिकता लिनका लागि कागजात गृहमन्त्रालयमा थुप्रिएर बसेकाहरूको समस्या हल हुनेगरी आफूले काम गरिरहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले सबै खालको नागरिकता जिल्लाले दिइरहेको अवस्थामा नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी बसोबास गरेका तर बाबुको ठेगाना नभएका व्यक्तिलाई मात्र मन्त्रालयले नागरिकता दिनुपर्ने व्यवस्था आवश्यक नभएको स्पष्ट पार्नुभभयो । 

गृहमन्त्री लेखकले गैर आवासीय नेपाली नागरिकताको विषयमा सम्बोधन गर्न छुट्टै कानुनको मस्यौदा निर्माणको काम भइरहेकाले गैर आवासीय नेपाली सम्बन्धी सम्पूर्ण समस्या र विषय त्यस विधेयकले सम्बोधन गर्ने बताउनुभयो ।

उहाँले देशभरका जिल्ला प्रशासनबाट नागरिकता र राहदानी लिने प्रक्रियालाई सहज बनाउन जिल्ला प्रशासनमा टोकन प्रणालीबाट सेवा प्रवाह शुरु गरिसकेको बताउनुभयो ।

नेपाल नागरिकता दोस्रो संशोधन विधेयकमाथिको छलफलका क्रममा संशोधनकर्ता सांसदहरूसँग आज छलफल सकेको मितिले  सोमबार सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button