२०४८–०५१ आर्थिक उपलब्धिका हिसाबले नेपालको ‘गोल्डेन एज’ : महामन्त्री थापा
नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वि.सं. २०४८ देखि २०५१ को अवधि आर्थिक उपलब्धिका हिसाबले नेपालको ‘गोल्डेन एज’ भएको बताउनुभएको छ ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आज नेपालगन्जमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले आर्थिक उदारीकरणको प्रारम्भ २०४८ सालमा गिरिजा प्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारले गरेका कारण उक्त तीन वर्ष ‘गोल्डेन एज’ का रुपमा दर्ज भएको दाबी गर्नुभयो । थापाले नेपालको अर्थतन्त्रलाई थप उदार बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले २०५१ सालमा रोकिएको आर्थिक उदारीकरणलाई थप उदार बनाएर लैजानुपर्ने आफ्नो धारणा रहेको स्पष्ट पार्नुभयो । उहाँले मुलुकमा उत्पादन र रोजगारी सिर्जना गर्न निजी क्षेत्रकै भूमिका रहेकाले त्यसै अनुसारको नीति अख्तियार गर्नुपर्ने बताउनुभयो ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य द्वय मधु आचार्य र मैकुलाल वाल्मीकि, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल लगायत उद्योगी, व्यवसायीहरूको उपस्थिति थियो ।
कार्यक्रममा उद्योगी व्यवसायीहरू कन्हैयालाल वैद्य, ध्रुब प्रसाद दाहाल, टंक प्रसाद शर्मा, लक्ष्मण राज पौडेल, मन प्रसाद आचार्य, सूर्य गौडेल, अशोक गौडेल, राजु रिजाल, गोपाल प्रसाद गिरी, अर्थशास्त्री डा। राजेश केशर खनाल, डा. अवनिन्द्र मिश्र लगायतले महामन्त्री थापासमक्ष जिज्ञासा राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्