मनसुनजन्य विपद्बाट २० लाख जनसङ्ख्या प्रभावित हुने प्राधिकरणको आङ्कलन
काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपदबाट देशभर करिब २० लाख जनसङ्ख्या प्रभावित हुने आङ्कलन गरेको छ ।

प्राधिकरणले आज सिंहदरबारस्थित पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मनसुन पुर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय योजना २०८२ बारे जानकारी दिँदै यस वर्ष मनसुनजन्य विपदबाट देशभर करिब ४ लाख ५७ हजार १ सय ४५ घरधुरीका १९ लाख ९७ हजार ७ सय ३१ जना प्रभावित हुने आङ्कलन गरिएको जानकारी गराइएको हो ।
यसवर्ष सबैभन्दा बढी सुदूरपश्चिम, कर्णाली, बाग्मती, कोशी प्रदेशमा मनसुनजन्य विपद्को जोखिम देखिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा जोखिम न्युनिकरण पुर्वतयारी तथा प्रतिकार्य अन्तर्गत खोज तथा उद्धारका लागि १० हजार ८५ प्रहरी जनशक्ति, ७ हजार ६ सय १५ जना सशस्त्र प्रहरी बल, गोताखोर १ सय २८ जना, बेलिब्रिज, र्याफ्टिङ बोट र हेभी इक्यूपमेन्टका जनशक्ति तथा सामग्रीहरु मौज्दात रहेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।
प्राधिकरणले विपद्बाट प्रभावितलाई प्रभावकारी ढंगले राहत व्यवस्थापनको लागि आवश्यक सामग्री व्यवस्थापन गर्न स्थानीय, प्रदेश, तथा केन्द्र सरकार साथै नीजि क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय लगायतका सरोकारवालहरूसँग सहकार्य समन्वय गर्ने पनि जनाएको छ ।
विपद् व्यवस्थापन कोषमा कूल ४ अर्ब ६५ करोड २४ लाख १८ हजार २ सय ८६ रुपैयाँ रकम मौज्दात रहेको प्राधिकरणले जानकारी गराएको छ ।







प्रतिक्रिया राख्नुहोस्