‘खानेपानीका आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिइने छैन’
इलाम । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताउनुभएको छ ।

आज संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलाम अन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारविरुद्ध कानुनी दायरामा ल्याइने बताउनुभयो ।
यसैगरी मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बहाना बनाएर खानेपानीका आयोजनाहरूमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी गराउनुभयो ।
मन्त्री यादवले निर्माणमा ढिलासुस्तीको काम तत्काल बन्द गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गर्नु हुँर्दै समस्या आइपरेको खण्डमा तत्काल मन्त्रालयमा वा आफूलाई जानकारी दिन समेत आग्रह गर्नुभयो । नागरिकलाई सुरक्षित, स्वच्छ एवं शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा रहेका सबै खानेपानी आयोजनाहरूमा नतिजा देखिने गरी समयमै सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री यादवले खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा कारबाही गर्ने बताउनुका साथै खानेपानीका क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा सूर्योदय नगरपालिका, फिक्कल इलामका नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल, खानेपानी मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, कर्मचारी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।
नेपाल सरकारले आधारभूत स्तरको खानेपानी सेवा जनताको पहुँचमा पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत जलवायु अनुकुलित वृहत् खानेपानी आयोजना तर्जुमा गरेको र सोही आयोजना अन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजना स्थल सूर्योदय नगरपालिका–३, ६–८, १०–१४, इलाम नगरपालिका–१० र रोङ गाउँपालिका–३ मा पर्ने गरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्