चैते धानमा ‘नेक ब्लाष्ट’रोग : बोटमै सुक्यो धान
झापा । झापाको शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौजना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताउनुभयो ।

पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि एक विघा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै कृषक शिवकुमारी मैनालीले एकै रातमा सबै धान सर्लक्कै सुकेर भुससरह भएको बताउनु भयो ।
फसल भित्र्याउने बेलामा रोगले धान सबै सुकेपछि ठूलो नोक्सानी भएको कृषक सुशीला काफ्लेले बताउनुभयो ।
नेक ब्लास्ट रोग धानको बीउबाट सर्ने भएकाले ब्याडमा धान छर्नुअघि बीउ धानको उपचार गर्न आवश्यक रहेको कृषि शाखा प्रमुख भट्टराईले बताउनुभयो । किसानले बीउ उपचार नगरी रोप्दा र नाइट्रोजनयुक्त मल बढी प्रयोग गर्दा पनि यस्ता समस्या निम्तिने उहाँको भनाइ छ ।
उहाँले समस्या देखिएका क्षेत्रमा रोग नियन्त्रणका लागि किसानलाई पालिकाद्वारा निःशुल्क विषादी उपलब्ध गराइरहेको बताउनुभयो । माटो परीक्षण गरी प्राविधिकको सिफारिसअनुसार मात्रै रासायनिक मलको प्रयोग गर्नसके यस्ता रोगको प्रकोप नदेखिने उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्