रिमिघा लेकमा फेला परेको यार्सागुम्बा जस्तो जडीबुटीको अनुसन्धान हुने
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–३ को रिमिघा लेकमा यार्सागुम्बा जस्तो वनस्पति फेला परेसँगै गाउँपालिकाले अनुसन्धानअघि बढाएको छ ।

रम्भा गाउँपालिका–३, पिपल डाँडाको रिमिघा पोसपाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै देखिने ढुसी प्रजातिका वनस्पति भेटिएपछि यार्सागुम्बा जस्तो महत्वपूर्ण जडीबुटी हो कि भन्ने पहिचानको प्रयोगशालामा पठाइएको छ।

१ हजार ८ सय मिटरको उचाइमा रहेको रिमिघा लेकमा सुन्तला खेती गर्ने तयारी हुँदै गर्दा यस्तो जडीबुटी भेटिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
रिमिघा लेकमा झाडी सरसफाइ गरेर सामुदायिक वन क्षेत्रमा सुन्तलाको बिरुवा लगाउने तयारी गर्दा खाल्डो खन्दै गर्दा ती वनस्पति भेटिएका थिए, ‘सुरुमा एक दुई वटा यार्सा जस्तै देखिने प्रजातिका वनस्पति र तल्लो भागमा किरा जस्तो देखिएपछि सोधपुछ भएछ,’ पालिका अध्यक्ष भण्डारीले भन्नुभयो । यार्सागुम्बा जस्तो जडीबुटीको पहिचान नहुँदासम्म अब स्थानीयलाई सङ्कलन गर्न र जङ्गल जानसमेत रोक लगाइएको बताउनुभयो ।
डिभिजन वन कार्यालयले तत्काल वन कर्मचारीलाई खटाएर सङ्कलन गरी तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइने डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो । उहाँले प्रयोगशालामा नपठाइकन के हो भन्ने आधिकारिक थाहा हुन नसक्ने समेत बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्