तपाईँ सुन्दै हुनुहुन्छः

अदानचुलीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

हुम्ला । अदानचुली गाउँपालिका–१ को कुम्णामा ३३ केभी क्षमताको विद्युत् प्रसारण लाइनको सबस्टेसन निर्माण हुँदैछ। नेपाल विद्युत् प्राधिकरणको पूर्ण लगानीमा बन्न लागेको उक्त सबस्टेसनसँगै हुम्लाको विद्युत् आपूर्ति प्रणाली सुदृढ हुने अपेक्षा गरिएको छ।

हाल हुम्लामा दुईवटा ३३/११ केभी सबस्टेसनको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। प्राधिकरणको हिल्दुम वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहका अनुसार, निर्माण सम्पन्न भएपछि जिल्लाका सातवटै गाउँपालिकामा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पुर्‍याइनेछ। साथै, यस प्रसारण लाइनले मुगु र बाजुराका केही क्षेत्रलाई पनि सेवा पुर्‍याउने उनले जानकारी दिनुभयो ।
हाल जिल्लाको सिमकोट र खार्पुनाथमा मात्र स्थायी विद्युत् सेवा पुगेको छ। अन्य गाउँपालिकामा लघुजलविद्युत्को भरमा विद्युत् आपूर्ति भइरहेको छ, जसमा पनि समस्या आइरहेका छन्। अदानचुलीमा सञ्चालित १०० किलोवाट क्षमताका दुई विद्युत् परियोजना पटक–पटक बिग्रिएपछि कुकुरफाल्ना जलविद्युत् मात्र सञ्चालनमा छ, त्यो पनि तीन वडामा सीमित छ।

गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहका अनुसार, यस अवस्थालाई सुधार गर्न ३३ केभी प्रसारण लाइनको सबस्टेसन निर्माण थालिएको हो। यसबाट नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित उहाँले बताउनुभयो ।

निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रिक एण्ड पलम्बिङ सर्भिसका प्रतिनिधि सुनिल घिसिङले आगामी दसैँभित्रै विद्युत् आपूर्ति सुरु गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
यसैबीच, हुम्ला र मुगु जिल्लाका लागि चारवटा सबस्टेसन निर्माणको ठेक्का पाएको डेट हेन्स टिसी कम्पनीले काम अघि बढाइरहेको छ। इन्जिनियर योगेन्द्र रोकायाका अनुसार सिमकोट, अदानचुली, खत्याड र माङ्ग्रीमा काम भइरहेको छ। परियोजनाको डेडलाइन एक वर्षको रहेको र कामलाई तीव्रता दिइएको छ ।

कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवका अनुसार, ३३ केभी लाइनलाई स्तरोन्नति गर्दै राष्ट्रिय प्रसारण लाइनमा हुम्लालाई जोड्ने तयारी भइरहेको छ। गत वर्ष मुगु राष्ट्रिय ग्रिडमा जोडिएसँगै अब बाँकी रहेको अन्तिम जिल्ला हुम्ला पनि आगामी ३–४ महिनामा जोडिने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button