तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो माधवपुर गोल्डकपको उपाधि एपीएफलाई

चितवन । दोस्रो संस्करणको माधवपुर गोल्डकपको उपाधि विभागीय टोली एपिएफले जितेको छ । शनिबार निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि टाइव्रेकरबाट खेलको अन्तिम निर्णय भएको हो । टाइव्रेकरमा अभिषेक चर्च रजहरलाई ५–४ गोलले हराउँदै एपिएफले प्रतियोगिताको उपाधि जितेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टिमले दोस्रो हाफमा २–२ गोल गरे । अभिषेकका लागी जर्सी नम्बर ११ का एडम सोडिकले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै अभिषेककै ७ नम्बर जर्सीका खेलाडी सुजित बुढाथोकीले दोस्रो हाफको तेह्रौँ मिनेटमा अर्को गोल गरेपछि प्रतिद्वन्द्वी टिम एपिएफ दबाबमा आएको थियो ।

दुई गोल खाएर पछि परेको एपिएफले सम्हालिएर खेल्दै दुवै गोल फिर्ता गर्न सफल भयो । एपिएफका लागी जर्सी नम्बर १० का सविन गुरुङ र जर्सी नं.७ का विज्ञान चौधरीले गोल गरेका थिए । निर्धारित समयपछि थपिएको चार मिनेटको अन्तिम समयमा पाएको सुन्दर मौकालाई एपिएफले गोलमा परिणत गर्न नसक्दा खेल ट्राईब्रेकरमा पुगेको थियो ।

खेलमा एपिएफका गोलरक्षक उमेश कार्की म्यान अफ दि म्याच घोषित भए । साथै कार्कीले समग्र प्रतियोगिताकै ‘उत्कृष्ट गोलरक्षक को उपाधि समेत जित्न सफल भए । त्यस्तै एपिएफकै सबिन गुरुङ ‘सर्वाधिक गोलकर्ता र अभिषेकका समीप ढकाल ‘उत्कृष्ट खेलाडी’ को उपाधिले सम्मानित भए ।

जितसँगै एपिएफले २ लाख २२ हजार २२२ नगदसहित गोल्ड कप जितेको छ । उपविजेता बनेको अभिषेक चर्च रजहरले १ लाख ११ हजार १११ नगदसहित ट्रफि प्राप्त गरेको छ । विजेता तथा उपविजेतालाई वडाध्यक्ष आसिक तामाङ लगायतले ट्रफि तथा पुरस्कार प्रदान गरे ।

माधवपुर खेलकुद विकास समितिको आयोजनामा रत्ननगर १५ मा रहेको खेलमैदानमा भएको प्रतियोगितामा हेटौँडा फुटबल एकेडेमीलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको अभिषेक चर्च रजहर उत्कृष्ट खेल खेलेर पनि उपाधिविहीन भयो । प्रतियोगिता जेठ १० गतेदेखि सुरु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button