म्यान्माको सैनिक सरकारद्वारा भूकम्पपछि फेरि युद्धविराम विस्तार
याङ्गुन । म्यान्माको सैनिक सरकार (जुन्ता) ले अघिल्लो मानवीय युद्धविरामको म्याद सकिएपछि भूकम्पपछिको युद्धविराम विस्तार गरेको छ । युद्धविरामलाई निरन्तर भएका हवाई आक्रमणहरूले उल्लङ्घन गरेको आरोप लगाइएको थियो ।
मार्चको अन्त्यमा आएको ठूलो भूकम्पमा करिब तीन हजार आठ सय जनाको ज्यान गएको र दशौँ हजार घरबारविहीन भएपछि जुन्ताले सुरुमा बहु–पक्षीय गृहयुद्धमा युद्धविरामको घोषणा गरेको थियो ।
युद्धविराम पहिले पनि विस्तार गरिएको थियो, यद्यपि द्वन्द्व निरीक्षकहरूले नियमित हवाई आक्रमणहरू सहित लडाइँ जारी रहेको बताएका छन् ।
शनिबार जुन्ताको सूचना टोलीको एक विज्ञप्तिमा मे ३१ मा समाप्त भएको युद्धविरामलाई जुन ३० सम्म विस्तार गरिने उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “यसले भूकम्प प्रभावित क्षेत्रहरूमा पुनःस्थापना र पुनर्निर्माण गतिविधिहरूलाई सहज बनाउनेछ ।”
राज्य क्षतिग्रस्त सरकारी कार्यालय र विभागहरू, सार्वजनिक निवासहरू र यातायात सुविधाहरूको पुनर्निर्माणमा गहन रूपमा संलग्न रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिअनुसार युद्धविरामले देशलाई ‘स्वतन्त्र र निष्पक्ष बहुदलीय लोकतन्त्रको आम निर्वाचन’ आयोजना गर्न पनि अनुमति दिनेछ ।
देशको जुत्ता प्रमुखले यस वर्षको सुरुमा लामो समयदेखि वाचा गरिएको चुनाव जनवरीमा हुने बताउनुभएको थियो । यो सन् २०२१ मा सेनाले विद्रोह गरेपछि युद्धग्रस्त राष्ट्रमा पहिलो हुनेछ ।
विज्ञप्तिमा सेनाले जातीय सशस्त्र समूह र कू विरोधी लडाकुहरूको कुनै पनि आक्रमणको विरुद्धमा अझै पनि आक्रमण गर्ने चेतावनी दिएको छ ।
मलेसियाका विदेशमन्त्री मोहम्मद हसनले गत हप्ता भएको क्षेत्रीय बैठकलाई ‘हाल प्रभावित क्षेत्रहरूभन्दा बाहिर’ युद्धविरामको विस्तार र फैलावटका लागि आह्वान गरेपछि यो घोषणा आएको हो ।
मलेसियाले हाल १० देशको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को घुमाउरो अध्यक्षता गरिरहेको छ ।
यस समूहले सन् २०२१ फेब्रुअरीमा सैनिक सरकारले नागरिक नेता आङ सान सू कीलाई पदच्युत गरेपछि म्यान्माको द्वन्द्व अन्त्य गर्न अहिलेसम्म निष्फल कूटनीतिक प्रयासहरूको नेतृत्व गरेको छ । रासस/एएफपी
प्रतिक्रिया राख्नुहोस्