तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेन नजिकै रूसी पुल भत्किँदा सात जनाको मृत्यु, दर्जनौँ घाइते

मस्को  । युक्रेनको सिमानामा रहेका दुई अलग रूसी क्षेत्रमा रातभरि पुलहरू भत्किँदा सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले आइतबार बताएका छन् । रेल अधिकारीहरूले कम्तीमा एउटा घटनालाई ‘अवैध हस्तक्षेप’ को आरोप लगाएका छन् ।

युक्रेनको सिमानामा रहेको रुसको ब्रायन्स्क क्षेत्रमा शनिबार राति एउटा सडक पुल रेलवे लाइनमा खस्दा मस्कोतर्फ गइरहेको यात्रु रेल लिकबाट बाहिरियो र सात जनाको मृत्यु भयो ।

छिमेकी कुर्स्क क्षेत्रमा एक अलग रेल पुल पनि रातभरि भत्किँदा मालवाहक रेल लिकबाट खस्दा चालक घाइते भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले दुर्घटनाको कारण बताएनन् र घटनाहरूको विस्तृत विवरण प्रदान गरेनन्, तर अभियोजकहरूले अनुसन्धान सुरु गरेको बताएका छन् ।

ब्रायन्स्क क्षेत्रबाट सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा राष्ट्रिय अपरेटर रुसी रेलवेको भत्किएको रेलको फ्रेममाथि उद्धारकर्ताहरू चढिरहेको देखिएको थियो भने अर्को भिडियोमा चिच्याहटको आवाज सुनिएको थियो ।

“रेलवे ट्र्याकमा पुल खसेका कारण सात जनाको मृत्यु भएको छ”, ब्रायन्स्क क्षेत्रका गभर्नर अलेक्जान्डर बोगोमाजले टेलिग्राममा लेख्नुभएको छ ।

तीन बालबालिका सहित कम्तीमा ६६ जना घाइते भएको संशोधित सङ्ख्या दिँदै उहाँले बताउनुभयो ।

कुर्स्क क्षेत्रमा भएको छुट्टै घटनामा एउटा रेल पुल सडकमा भत्किएर मालवाहक रेल लिकबाट खसेको थियो । 

“हिजो राति झेलेजनोगोर्स्क जिल्लामा मालवाहक लोकोमोटिभ जाँदै गर्दा एउटा पुल भत्कियो । रेलको केही भाग पुलमुनिको सडकमा खस्यो”, कुर्स्क क्षेत्रका गभर्नर अलेक्जान्डर खिन्स्टेनले टेलिग्राममा भन्नुभयो, “एकजना लोकोमोटिभ चालकको खुट्टामा चोट लागेको छ र सम्पूर्ण चालकदललाई अस्पताल लगिएको छ ।”

– अवैध हस्तक्षेप –

दुवै दुर्घटनाको कारणबारे रुसी अनुसन्धानकर्ताहरूले तत्काल कुनै टिप्पणी गरेका छैनन् ।

राज्यको स्वामित्वमा रहेको रेलवे अपरेटर मस्को रेलवेले एक अनलाइन पोस्टमा ब्रायन्स्क क्षेत्रमा भएको घटनालाई ‘यातायात सञ्चालनमा अवैध हस्तक्षेप’ भएको आरोप लगाएको थियो ।

तर पछि यसले आफ्नो पोस्टबाट ‘अवैध हस्तक्षेप’ को सन्दर्भ हटाएको देखिन्छ ।

रुसले अघिल्ला घटनाहरूका लागि दोष लगाएको युक्रेनले तुरुन्त टिप्पणी गरेन ।

मध्य मस्कोमा रहेका एएफपी रिपोर्टरले घाइते यात्रुहरूको आगमनको पर्खाइमा किभस्की रेलवे स्टेसनमा एम्बुलेन्सहरू पार्क गरिएको देखे ।

ब्रायन्स्क क्षेत्रको सामाजिक सञ्जाल खाताबाट पोस्ट गरिएको एउटा भिडियोमा प्रत्यक्षदर्शीहरू मद्दत खोज्न हतारिँदै गर्दा कसैको चिच्याएको आवाज सुनिएको थियो ।

“पुल कसरी खस्यो रु त्यहाँ बालबालिकाहरू छन् १”, भिडियोमा एउटी महिलाको चिच्याउने आवाज सुन्न सकिन्छ ।

रुसको आपत्कालीन मन्त्रालयले ब्रायन्स्क क्षेत्रमा एउटा टोली घटनास्थलमा रहेको बताएको छ भने रूसी रेलवेले घटनास्थलमा मर्मत रेलहरू पठाएको बताएको छ ।

सन् २०२२ मा मस्कोले युक्रेनविरुद्ध आक्रमण सुरु गरेदेखि रुस दर्जनौँ विध्वंसकारी आक्रमणको चपेटामा परेको छ । धेरै आक्रमणले यसको विशाल रेलमार्ग नेटवर्कलाई लक्षित गरेका छन् ।

युक्रेनमा लडिरहेका आफ्ना सेनाका लागि सेना र हतियार ढुवानी गर्न रुसले रेलमार्ग प्रयोग गरेको किएभले बताएको छ ।

तीन वर्ष लामो द्वन्द्व अन्त्य गर्न अमेरिकी नेतृत्वको कूटनीतिक दबाबका बीच इस्तानबुलमा रूसी र युक्रेनी अधिकारीहरू बीचको सम्भावित बैठकको पूर्वसन्ध्यामा यी घटनाहरू भएका थिए ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button