निजी लगानीमा ‘प्रथम रारा महोत्सव’ हुने
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा क्षेत्रमा पहिलो पटक निजी क्षेत्रको लगानीमा ‘प्रथम रारा महोत्सव’ आयोजना हुने भएको छ।

एचआर मिडिया प्रा.लि.को आयोजनामा जेठ १८ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने महोत्सवले रारा तालको पर्यटन प्रवर्द्धन, मुगुको कला, संस्कृति, भेषभूषा र स्थानीय उत्पादनको संरक्षण तथा प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवमा ४० वटा स्टलहरू राखिनेछ, जसमा मुगुमा उत्पादन हुने विविध वाणिज्य तथा औद्योगिक सामग्री प्रदर्शन तथा बिक्री गरिनेछ। बाह्य जिल्लाका व्यापारीको तुलनामा स्थानीय व्यापारीलाई ३० प्रतिशत छुट दिइने बताइएको छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, परम्परागत भेषभूषा प्रदर्शनी तथा स्थानीय उत्पादनको बजारीकरणमा केन्द्रित कार्यक्रमहरू समावेश गरिनेछ।
एचआर मिडियाका सदस्य शान्ताराम सेन्चुरीका अनुसार, महोत्सवले राराको पर्यटकीय सम्भावनालाई उजागर गर्दै मुगुको संस्कृति तथा व्यापार प्रवर्द्धनमा नयाँ ऊर्जा दिनेछ।
यो महोत्सव निजी क्षेत्रको पूर्ण लगानीमा आयोजना गरिन लागेको पहिलो ठूलो प्रयास हो। यसअघि सन् २०५८ र २०६२ सालमा रारा महोत्सव क्रमशः तत्कालीन जिल्ला विकास समितिको पहलमा सम्पन्न भएका थिए।
यसपटकको ‘प्रथम रारा महोत्सव’ छायानाथ रारा नगरपालिकाको–८, बाम्नीचौरमा आयोजना हुनेछ।
प्रतिक्रिया राख्नुहोस्