तपाईँ सुन्दै हुनुहुन्छः

३० करोड लागतमा प्राङ्गारिक मल उद्योगको उद्घाटन 

रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकामा प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवर्द्धनमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

‘सरकारले नीति तथा कार्यक्रममै प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाउने घोषणा गरेको छ । ‘त्यसका लागि स्वदेशी प्राङ्गारिक मल उद्योगसँग सहकार्य गर्छौं,’ उहाँले भन्नुभयो, ‘सुरुमा पहाडका ६ जिल्ला र क्रमशः तराईका ६ जिल्लालाई प्राङ्गारिक जिल्ला बनाउँदै सिङ्गो प्रदेशलाई अर्ग्यानिक सर्टिफाइड बनाउँछौँ ।’

मुख्यमन्त्री आचार्यले प्राङ्गारिक मलबाट उत्पादन हुने खाद्यवस्तु तथा फलफूल विदेश निर्यात गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रदेशका केही पालिकालाई प्राङ्गारिक पालिकाका रूपमा घोषणा भइसकेको जानकारी दिनुभयो । उहाँले प्रदेशका हरेक पालिकामा प्राङ्गारिक मल प्रवर्द्धनका लागि कृषि ज्ञान केन्द्रलाई निर्देशन दिने प्रतिबद्धता पनि जनाउनुभयो ।

भैरहवाका उद्योगी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोड रुपैयाँको लगानीमा रोहिणी गाउँपालिका–४ कोटहवामा ‘ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि’ मार्फत गत वर्षदेखि मल उत्पादन सुरु भएको थियो ।

प्रति दिन २ सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको उक्त उद्योगले हाल ‘रत्नम’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको छ ।

कार्यक्रममा पूर्व सांसद घनश्याम यादव, प्रमोद यादव, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या यादव लगायतले नेपालकै ठूलो प्राङ्गारिक मल उद्योग लुम्बिनी प्रदेशमा सञ्चालनमा आउँदा किसानले अब मलको अभाव झेल्न नपर्ने बताउनुभयो ।

उद्योगका सञ्चालक सिद्धार्थ अग्रवालले कच्चा पदार्थ आयातमा कर छुटको व्यवस्था गरिनुपर्ने र स्वदेशी प्राङ्गारिक मलको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो । 

उद्योगकी प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले कोरोना सङ्क्रमणका कारण आफ्नै बुबालाई गुमाउनु परेको र श्रीमानसमेत संक्रमित भएर अस्पताल भर्ना भएको अवस्थामा मानव स्वास्थ्य र माटोको उर्वराशक्ति जोगाउन प्राङ्गारिक मल उद्योग खोल्ने निर्णय लिएको स्मरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button