तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय सरकारको समग्र वित्त स्थितिमा सुधार

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा  सङ्घीय आय बढेको र सङ्घीय खर्च घटेकाले सङ्घीय सरकारको समग्र वित्त स्थितिमा सुधार भएको छ । 

यस अवधिमा अनुदानसहितको सङ्घीय सरकारको समग्र वित्त सन्तुलन ५४ दशमलव ३ प्रतिशतले सुधार भई रु एक खर्ब ४४ अर्ब २४ करोडले घाटामा रहेको बिहीबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्मा पेस गर्नुभएको आर्थिक सर्वेक्षणमा २०८१/८२ मा उल्लेख छ । 

आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकारको प्राथमिक सन्तुलन ७४ दशमलव ४ प्रतिशतले सुधार भई रु ६२ अर्ब १४ करोडले घाटामा छ । 

त्यसैगरी, यस अवधिमा सङ्घीय सरकारको वित्त घाटा (वित्तीय सम्पत्तिको खुद प्राप्तिसहित) ४६ दशमलव ८ प्रतिशतले सुधार भई रु एक खर्ब ८५ अर्ब ९४ करोड रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकारको बजेट घाटा १८ दशमलव ० प्रतिशतले सुधार भई रु चार खर्ब नौ अर्ब २३ करोड रहेको छ । “आर्थिक वर्ष २०७९/८० मा रु एक खर्ब ५७ अर्ब ४५ करोडले घाटामा रहेको सङ्घीय सरकारको राजस्व सन्तुलन रु आठ करोडले मात्र घाटामा रहेको छ । सङ्घीय सरकारको चालु खर्च ६ दशमलव ३ प्रतिशतले घटेको र सङ्घीय राजस्व ११ दशमलव ४ प्रतिशतले बढेकाले राजस्व सन्तुलनमा उल्लेख्य सुधार भएको छ”, आर्थिक सर्वेक्षणमा भनिएको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा कूल गार्हस्थ्य उत्पादनको अनुपातमा सङ्घीय सरकारको समग्र वित्त घाटा (अनुदानबाहेक) २ दशमलव ९५ प्रतिशत, समग्र वित्त घाटा (अनुदानसहित) २ दशमलव ५३ प्रतिशत र वित्त घाटा (वित्तीय सम्पत्तिको खुद प्राप्तिसहित) ३ दशमलव २६ प्रतिशत रहेको छ । 

त्यसैगरी, प्राथमिक घाटा १ दशमलव ०९ प्रतिशत र बजेट घाटा ७ दशमलव १७ प्रतिशत रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button