तपाईँ सुन्दै हुनुहुन्छः

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्न महासचिव पोखरेलको परिपत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियु २४औँ महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ । 

महासचिव शङ्कर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही जेठ २५ गतेदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिनुभएको हो । 

मल्लले महासचिव पोखरेलको परिपत्र आज प्राप्त भएकाले आसन्न महाधिवेशनबाट उमेर हद लागू गर्ने जानकारी दिनुभयो । 

एमालेको यही जेठ ११ गते बसेको सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हद तोक्ने निर्णय गरेका थियो । परिपत्रमा भनिएको छ, “३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरू मात्र विधानको व्यवस्थाअनुरूप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने, यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरु अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन् ।” 

परिपत्रमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था सङ्गठनका सबै तहका कमिटीमा लागू हुनेगरी विधानमा आवश्यक व्यवस्था मिलाउनसमेत भनिएको छ । 

यसअघि, नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु (क्रान्तिकारी)ले ३२ वर्ष उमेर हद तोकेका थिए । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनमा २८ वर्षे उमेर हद तोकिएको छ । 

अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button